आर्थिक

वित्तीय कारोबार नगर्न क्यासिनो/होटल/रिसोर्ट/अस्पताल/विद्यालयलाइ राष्ट्रबैंकको चेतावनी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न/नगराउन सरोकारभएका सबैलाई आग्रह गरेको छ ।

केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, विद्यालय र कलेज आदिको नाममा न्यूनतम् दरमा ऋण उपलब्ध गराउने भन्दै प्रकाशित विज्ञापनप्रति गम्भीर ध्यानाकर्ष भएको सन्दर्भमा उक्त आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्नेछ । बैंक वा वित्तीय संस्थाले बाहेक अन्य कसैले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानूनी व्यवस्था छ । उक्त व्यवस्था विपरीत कसैले त्यस्तो कार्य गरे÷गराए प्रचतिल कानून बमोजिम कारवाही हुने बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले स्पष्ट शब्दमा भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाबाहेक कोही कसैले निक्षेप सङ्कलन र कर्जा प्रवाह गरेको पाइए कानूनबमोजिम कारवाही हुने भएकाले त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरिन्छ ।’ यही असार ४ गते मार्केट पर्स ग्लोबल कम्पनीले ६ प्रतिशत ब्याजदरमा रु पाँच अर्बसम्म ऋण दिने भन्दै विज्ञापन प्रकाशित गरेको थियो ।