समाचार

यसरी पाए नेपाली काँग्रेसका युवा नेता खतिवडाले सहीदकी माताको आशिर्बाद

काठमाण्डौ । शहीद क्याप्टेन यज्ञबहादुर थापाको घर बनाउन पूर्व सांसद रामहरि खतिवडाले सहयोग गरेका छन् । प्रजातान्त्रिक आन्दोलनका योद्वा क्या यज्ञबहादुर थापाको जन्मस्थल चिशङ्खुगढी गाउँपालिकास्थित पोखरेमा घर बनाउन खतिवडाले रु ४० हजार सहयोग गरेका हुन् ।

नेपाली काङ्ग्रेसका नेता खतिवडाले आज शहीद थापाकी धर्मपत्नी पूर्णकुमारी थापालाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका छन् । भूकम्पले भत्किएको घर जसोतसो बनाएको भए पनि छानो छाउने रकम नभएको पूर्णकुमारीले गुनासो गरेपछि सहयोग गरेको पूर्वसांसद खतिवडाले बताए ।

आफ्ना श्रीमान् शहीद क्या थापाको जन्ममभूमिका बस्ने रहर भएकाले गाउँमा घर बनाउन जुटेको पूर्णकुमारीले बताईन् । पूर्वसांसदको सहयोग पाएपछि शहीद पत्नी थापाले खुशी व्यक्त गरिन् । तत्कालीन शाही नेपाली सेनाका क्याप्टेन रहनुुभएका प्रजातान्त्रिक योद्धा क्याप्टेन थापा विसं २०१८/१९ मा जागिर छाडेर प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिनुभएको थियो ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका आन्दोलनमा सहभागी थापाले भूतपूर्व सैनिक तथा प्रहरीहरुलाई सङ्गठित गरी पञ्चायती विरोधी आन्दोलनमा लाग्नुभएको थियो । चर्चित टिमुरबोटे काण्डको नेतृत्व गर्नुभएका थापालाई विसं २०३५ माघ २७ गते सिरहाको केचना खोला तिरमा तत्कालीन पञ्चायती सरकारले गोली हानी गरी हत्या गरेको थियो । विसं २०७२ मा केपी ओली नेतृत्वको सरकारले थापालाई शहीद घोषणा गरेको थियो । शहीद क्या. थापाको जन्मस्थानमा चिशङ्खुगढी गाउँपालिकाले उहाँको पूर्णकद्को शालिक निर्माणको काम गरिरहेको छ ।