लुम्बिनी

लागुऔषधसहित दुई पक्राउ

परासी । ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ । प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार भन्ने बुद्ध देवदत्त रहेका छन् । भारतबाट पैदल नेपाल आइरहेका उनीहरुको झोला जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई/दुई एमएलको १००/१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको हो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उपरीक्षक थापाले बताए।