पत्रपत्रिका

त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत एक हप्तामा सकिने

काठमाडौँ । देशको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत एक सातामा सकिने भएको छ । ३ हजार ५ मिटर लम्बाइको धावनमार्गको बेस कोर्स मर्मत सकिएको धावमार्ग मर्मत आयोजनाका अधिकृत दीपेन्द्र श्रेष्ठले बताए । बेस कोर्समाथि लगाइने माथिल्लो भाग ९टप कोर्स०मध्ये १२ सय ५० मिटरमा सम्पन्न भएको उनको भनाइ छ । धावनमार्गको बेस कोर्स २० सेन्टिमिटरको र टप कोर्स साढे ६ सेन्टिमिटरको रहेको छ । टप कोर्सको काम मौसमले साथ दिएमा एक सातामा सकिने उनले बताए । तर, ट्याक्सी वे भने वर्षात्को मौसम सकिएपछि मर्मत गरिने उनले जानकारी दिए ।

असार १६ देखि २१ घन्टा खुल्ने
धावनमार्ग मर्मतका लागि गत चैत १८ गतेदेखि विमानस्थललाई राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिँदै आइएको छ । अब, धावनमार्गको मर्मत अन्तिम चरणमा रहेकाले असार १६ देखि दैनिक २१ घन्टा सञ्चालनमा आउने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए । उनले भने, ‘जुलाई १ देखि अगस्ट अन्तिमसम्म दैनिक २१ घन्टा विमानस्थल सञ्चालन हुन्छ ।’ सेप्टेम्बर १ देखि डिसेम्बर अन्तिमसम्म फेरि विमानस्थल सञ्चालन समय कटौती गरिने उनले बताए । राति साढे ११ देखि बिहान साढे ६ सम्म विमानस्थलको ट्याक्सी वे मर्मतका लागि नोटाम जारी गरिने क्षत्रीले बताए ।

रकम भुक्तानी विवाद
धावन मार्ग मर्मत गर्न आवश्यक कच्चा पदार्थ ल्याउँदा भन्सार छुट दिने सहमति ठेक्का प्रक्रियामा गरिएको थियो । तर, मर्मतका लागि ल्याइएका बिटुमिन, अलकत्रा, केमिकललगायतका कच्चा पदार्थमा भन्सार छुट दिन अर्थ मन्त्रालयले नमानेपछि ठेकेदार कम्पनीले काम अघि बढाउन नसक्ने यसअघि बताएको थियो ।

धावनमार्ग मर्मत आयोजनाले कर छुट विवाद समाधान गर्ने प्रतिबद्धता जनाएपछि चिनियाँ ठेकेदार कम्पनी नेसनल एरो टेक्निकल इन्जिनियरिङले काम निरन्तर गरेको थियो । सोहीकारण तोकिएको समयमा धावनमार्ग निर्माण सम्पन्न हुँदै छ । ठेकेदार कम्पनीले कर छुट दिने भनिएको, तर छुट नपाएको रकम दाबी गरी धावनमार्ग मर्मत परियोजनामा पेस गरेको मन्त्रालय स्रोतले जनाएको छ । तर, अहिलेसम्म कर छुटको रकम भने निकासा हुन सकेको छैन ।चिनियाँ ठेकदार कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ लागतमा धावन मार्ग मर्मत गर्न ठेक्का लिएको हो ।

२४सै घन्टा बाटो खुल्नेछ
त्रिभुवन विमानस्थलमा जहाजको चाप अत्यन्त बढी छ । विमानस्थलबाट दिनमा ३ सय ५० देखि ४ सय आन्तरिक र अन्तर्राष्ट्रिय जहाज उडान हुुन्छ । सन् १९७५ मा ३ हजार मिटर लम्बाइ र ४५ मिटर फराकिलो बनाइएको धावनमार्ग मर्मत नगर्दा धावनमार्गको पिचमा समस्या आइरहेको थियो । जसले गर्दा जहाजको उडान रोकिने मात्र होइन, उडानमा जोखिमसमेत थियो । अब धावनमार्गको मर्मत र ट्याक्सी वेको निर्माणपछि त्रिभुवन विमानस्थल २४सै घन्टा सञ्चालन गर्ने योजना रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए । नयाँ पत्रिका