कर्णाली प्रदेश

हुम्ला जीप दुर्घटनाः बेपत्ता सबैको पुत्ला बनाएर अन्तिम दाहसंस्कार

हुम्ला । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ । गत मङ्गलबार (असार ३ गते) खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ बेपत्ता भएका थिए ।

बुधबार अपराह्न १ः३० बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि शव नभेटिएपछि हिन्दू धर्मअनुसार आफन्तले बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका नौ जनाको छुट्टाछुट्टै दाहसंस्कार गरेका हुन् । बेपत्ता जिप र शवको खोजीकार्यमा कुनै प्रगति नभएपछि बिहीबार स्थानीयवासीको मागअनुसार बेपत्ता भएका नौ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए।

अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष शाहीको पुत्लामा उनका पति धीरेन्द्र शाही र छोराले दागबत्ती दिएका छन् । आफन्त र गाउँपालिकाका स्थानीयवासीको उपस्थिति भएको दाहसंस्कारमा पालिका अध्यक्ष रावलले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो भने नेपाली काङ्ग्रेसका जिल्ला सचिव महनविक्रम सिंहले नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए। जिप दुर्घटनामा बेपत्ता भएका काठमाडौँका राजु श्रेष्ठ र एक जना नाम नखुलेका कुकको भने दाहसंस्कार गरिएको छैन ।