समाचार

टोल–टोलमा लागुऔषध दुरुपयोगविरुद्ध प्रहरी अभियान

ओखलढुङ्गा । ओखलढुङ्गाका सबै स्थानीय तहका टोल–टोलमा लागुऔषध दुरुपयोेगविरुद्ध सप्ताहव्यापी अभियान शुरु भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर जिल्लाभर लागुऔषधविरुद्धको अभियान थालिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयको संयोजनमा बिहीबार जिल्लाका आठवटै स्थानीय तहमा विशेष कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । दुव्र्यसनी न्यूनीकरण र अपराध नियन्त्रणमा नागरिक तहको महत्वपूर्ण भूमिका हुने भएकाले दुर्गम गाउँ केन्द्रित कार्यक्रम गरिएको प्रहरी प्रमुख मल्लको भनाइ छ ।

अभियान शुरुआत गर्दै सदरमुकाममा प्रभातफेरी निकालिएको थियो । लागूपदार्थ दुव्र्यसनीको विरुद्धमा चेतनामूलक नाराहरु लेखिएको प्लेकार्डसहित निकालिएको प्रभातफेरी नगर परिक्रमा गरी गणेशचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सरोकारवालाहरूले अपराधरहित जिल्ला बनाउन यो अभियानले टेवा पुग्ने बताए । मदिरा र लागुऔषधको दुरुपयोेगका कारण बढेको अपराध न्यूनीकरणका लागि पनि अभियान गाउँगाउँमा पु¥याउन जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले सुझाव दिए । श्रेष्ठले जिल्लामा लागू पदार्थ दुव्र्यसनी तथा ओसारपसारका घटना धेरै बाहिर नआए पनि त्यसलाई शून्यमा झार्नुपर्ने बताए ।

“जिल्लामा यस्ता धेरै घटना सुनिएका छैनन् तर समस्या विकराल बनेपछि समाधान गर्नुभन्दा पहिल्यै सचेत बन्नुपर्छ”, श्रेष्ठले भने, “प्रहरी एक्लैले गर्नुपर्छ भन्ने छैन, स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्छ ।” दुव्र्यसनमुक्त समाज निर्माणका लागि सञ्चालन गरिएको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दै उनले युवा दुव्र्यसनीमा बढी फस्ने भएकाले सबै अभिभावकले आ–आफ्ना बालबालिकाको व्यवहारका बारेमा ध्यान दिनुपर्ने बताए ।

सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले दुव्र्यसनीमुक्त समाज निर्माणमा स्थानीय सरकार जुटेको बताए । दुव्र्यसनी समृद्धिको अभियानको बाधक भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने नगरप्रमुख श्रेष्ठको भनाइ थियो । घरमा अभिभावक र विद्यालयमा शिक्षकबाट विद्यार्थीले सही र गलत सिक्ने भएकाले दुव्र्यसनी रोक्न घरघरबाट सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो । बालबच्चालाई सिकाउनु अघि अभिभावक स्वयं लागुऔषधको दुव्र्यसनबाट मुक्त हुनुपर्नेमा नगरप्रमुख श्रेष्ठले जोड दिए।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले मदिरा तथा लागुऔषध कारोवार र सेवन गर्ने सबैलाई कडा कानूनी कारवाही गर्ने चेतावनी दिए । सार्वजनिक सूचना जारी गरेर सचेत गराइएकाले गैरकानूनी गतिविधि गर्ने कोही कसैलाई नछाड्ने प्रजिअ आचार्यको भनाइ छ ।

होटल व्यवसायी सङ्घ ओखलढुङ्गाका अध्यक्ष थगेन्द्रराज राईले लागुऔषध दुव्र्यसनीमा संलग्न व्यक्तिहरु होटलको सम्पर्कमा पहिला आउने बताए । दुव्र्यसनीमा फसेका अधिकांश मानिस अपराधमा संलग्न हुने भएकाले फरक व्यवहारको देखेमा वा शङ्का लागेमा प्रहरीलाई आफूहरुले खबर गर्ने गरेको बताए । त्यस्ता व्यक्तिका कारण व्यवसायीमा सुरक्षाको चुनौतीसमेत बढेको अध्यक्ष राईले सुनाए ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्र मास्केले ओखलढुङ्गाका उद्योगी व्यवसायीले लागुऔषध ओसारपसार नगरेको जिकिर गरे । जिल्लाका व्यापारीले गैरकानूनी काम नगरेको उनको भनाइ थियो । स्थानीय लालीगुराँस बोर्डिङ स्कूलका प्रिन्सिपल सूर्य श्रेष्ठले विद्यालयसँगको साझेदारीमा सचेतना कार्यक्रम गर्न आग्रह गरे । विद्यार्थीमार्फत एकै पटक घरघरमा सन्देश प्रवाह हुने भएकाले विद्यालयमार्फत समुदायमा सन्देश प्रवाह गर्न सकिने उनको तर्क थियो ।