समाचार

न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधारः लठ्ठी र हथौडा

गलेश्वर । भनाइ छः ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र ? सबै किसिमका पाप कर्म गर्छ ।’ संस्कृतको यो शुक्तिलाई म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका न्यून दृष्टियुक्त व्यक्ति आइतबहादुर दर्जीको परिश्रमले भने पुर्नलेखन गर्नुपर्ने बनाइदिएको छ ।

जन्मजातरुपमा दुवै आँखा नदेख्ने ५६ वर्षीय दर्जीले आफ्नो र परिवारको पेट भर्न र जीउ ढाक्न पापकर्म गरेर होइन आफ्नै बलबुताले परिश्रम गरेर समाजका लागिसमेत उदाहरणीय बन्नुभएको छ । न्यून दृष्टियुक्त व्यक्ति दर्जी विगत छ वर्षदेखि एकाबिहानै एउटा हातले लठ्ठी टेकेर र अर्को हातले हथौठा बोकेर घरबाट निस्कनुहुन्छ । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरको लागि गिट्टी कुटेर गुजारा चलाउनु उहाँको बाध्यता बनेको छ । दैनिकजसो बिहानै ज्याला मजदूरी गर्न जाने दर्जी न्यून दृष्टियुक्त व्यक्ति भए पनि परिवारमा उहाँको जिम्मेवारी भने ठूलो छ । आर्थिक अवस्था कमजोर भएका दर्जीले भकुण्डेको अर्जुन माविमा निर्माणाधीन भवनका लागि गिट्टी कुट्ने गर्नुभएको छ ।

फापरखेतमा सार्वजनिक जग्गामा बसिरहेका दर्जी गत साल पत्रकार हरिकृष्ण गौतमको अगुवाइमा करीब रु एक लाख ५० हजार आर्थिक सहयोग जुटेपछि जस्तापाताले छाएको घर बनाएर बस्नुभएको छ भने रु ५० हजारमा अरुको खेत बन्धकीमा लिनुभएको छ । दैनिक घरखर्च चलाउनका साथै छोराको पढाइ खर्च जुटाउन गिट्टी कुट्ने गरेको दर्जीले बताउनुभयो । दर्जीका दुई छोरा र श्रीमती छन् । जेठा छोरा गाउँकै अर्जुन माविमा कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि आर्थिक अभाव भएकाले वैदेशिक रोजगारीमा जाने तरखरमा छन् भने कान्छा छोराले पनि राम्रोसँग आँखा देख्दैनन् । कान्छा छोरा अनिल ७ कक्षामा पढ्छन् ।

“म दुवै आँखा देख्दिन, मेरो कमाइले घरमा चुलो बल्छ”, दर्जीले भन्नुभयोे, । दर्जीले आफ्नो सहारा भनेकै एउटा लठ्ठी र हथौडा भएको बताउनुभयो । सहाराको रुपमा रहेको लौरोभन्दा प्यारो गिट्टी कुट्नका लागि आवश्यक पर्ने हथौडा आफ्नो लागि महत्वपूर्ण रहेको दर्जीको भनाइ छ । दर्जी परिवार गाउँकै सबैभन्दा कमजोर परिवारको रुपमा रहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो । छोराहरूलाई लत्ताकपडा, कपीकलमसहित खाजा खर्च जुटाउनसमेत मुस्किल छ । “सकि नसकी दैनिक ३०० जति कमाइ हुन्छ । बिरामी हुँदा आफ्नो शरीरभन्दा छोराहरूको चिन्ता लाग्छ”, दर्जीले भन्नुभयो । दर्जीले पैसाको अभावमा कहिलेकाहीँ एकछाक खाने गरेकोसमेत बताउनुभयो ।

“पत्रकार हरिकृष्ण गौतम मेरो जीवनमा भगवान् नै बनेर आउनुभयो”, अर्जुन माविको चौरमा गिट्टी कुट्दै गरेका दर्जीले भन्नुभयो, “उहाँकै आग्रहमा देश विदेशमा रहेका व्यक्तिले मलाई सहयोग गरे र त्यसैको भरमा टिनले छाएको घरमा बस्न पाएको छु ।”, “दर्जीको अवस्था अत्यन्त टिठलाग्दो थियो”, पत्रकार गौतमले भन्नुभयो, “उनको दयनीय अवस्था देखेर मैले सहयोग जुटाएको हुँ ।”

अपाङ्गताको क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्था भए पनि आफ्नो घरमा सानो सहयोगसमेत नगरेको दर्जीको गुनासो छ । “गरीबको घरमा त सहयोग गर्ने सङ्घसंस्था पनि आउँदैनन्, आवश्यक कमाइ गर्न पनि सकिँदैन”, उहाँले भन्नुभयोे । श्रीमती बिरामी हुने समस्याले समेत नियमित मजदूरीमा जान समस्या हुने गरेको दर्जीको भनाइ छ । दर्जीले मनकारी व्यक्तिसँग सहयोगको आग्रह गर्नुभएको छ ।