लुम्बिनी

‘वाटरपार्क’ निर्माणको काम धमाधम हुँदै, समयमै सक्ने लक्ष्य

नेपालगञ्ज । लामो समयको पर्खाइपछि यहाँको बहुप्रतिक्षित ठूलो योजनाभित्रको वाटरपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ । “वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोशेढुङ्गा सावित हुनेछ”, नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले भने ।

वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ । पार्कमा आकर्षक र मनमोहक फूलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसलकोठालगायतका संरचना निर्माण हुनेछन् ।

“कुचुक्क परेको हाम्रो धम्बोझी टोलको बीचमा रहेको वाटरपार्क निर्माणले यो वडाको स्वरुप नै फेरिन्छ, यहाँ हाम्रो व्यापार बढछ, हाम्रो जीवनस्तर पनि फेरिन्छ”, स्थानीयवासी रघुवीर मिश्र खुशी व्यक्त गरे । हुन पनि, स्थानीयवासी मिश्रले भनेजस्तै वाटरपार्क निर्माणको डिजाइन पनि त्यसैगरी भएको छ । नेपालगञ्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्कमा नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि जोडिने छ ।

नेपालगञ्जको वाटरपार्क निर्माणको योजना ११ वर्षअघि तयार गरिएको थियो । २०६५ सालमा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको छ । “यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको चार वर्षभित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ”, नेपालगञ्ज नगर विकास समितिका अध्यक्ष गोपाल पुनले बताए।

नगर विकास समितिले अहिले वाटरपार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाण पुर्जा तयार गरिसकेको छ । “दुई÷चार दिनभित्र जग्गा धनीलाई प्रमाणपुर्जा वितरण गरिसकेपछि समितिको मातहतमा रहेको यो पार्कलाई नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ”, अध्यक्ष पुनको भनाइ छ । पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ ।

वाटरपार्क संरचनाअन्तर्गत अहिले पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माणको काम भइरहेको छ । निर्माणको काम छिटो सक्न पाँच वटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन वाटरपार्क योजना जसरी पनि सफल गर्नुपर्नेमा यहाका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारण एकमत पनि छन् ।