कर्णाली प्रदेश

जाजरकोट–डोल्पा सडक हस्तान्तरण गर्दै सेना

डोल्पा । जाजरकोट–डोल्पा सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्न लागिएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडकले यसै महिनाभित्रै पूर्णता पाउने बताउँदै आयोजना नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत विभागलाई यसै महिना हस्तान्तरण गर्न लागिएकोे सेनाले जनाएको छ ।

जाजरकोटको पासागाडदेखि दुनैसम्मको ११८ किलोमिटर सडक आयोजना सफलतापूर्वक निर्माण पूरा गरेर आयोजना नै विभागलाई हस्तान्तरण गर्न लागिएको सडक निर्माण कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए ।

तत्कालीन विषम परिस्थिति र भौगोलिक विकटता भए पनि सरकारले सेनालाइ दिएको जिम्मेवारी पूरा गर्दै डोल्पालीको भाग्यरेखाका रुपमा रहेको उक्त सडक आयोजना पूरा गरी विभागलाई हस्तान्तरण गर्न लागिएको उनले बताए। उनले भने, “ सडक निर्माणको क्रममा थुपै्र चुनौती व्यहो¥यौँ, विकासको मुख्य पूर्वाधारको रुपमा रहेको सडक निर्माणमा दिनरात खटिँदै ज्यान हत्केलामा राखेर सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गरेको छ ।” अहिले सुँपानी–दुनै सडकखण्डको १४ दशमलव ३ किमी सडकको सुधार भइरहेको छ ।

सो खण्डमा पर्ने कालागौँडा भीर र लामालोटे भीरलगायत सात भीर छिचोलेर सुधार अन्तिम चरणमा पुगेको छ । यसै महिनाभित्र कार्य सम्पन्न गरिने कार्यदल प्रमुख पहाडीले बताए । आयोजनाको दुनैसम्मको ट्रयाक खुलाउने काम गत मंसिर ४ मा सम्पन्न भइसकेको छ । सुँपानी–दुनै खण्डको ट्रयाक खुलाउने काम तत्कालिन जिल्ला बिकास समिति खुलाइएको थियो ।यस खण्डको सडकको चौडाइ साँघुरो भएकाले सेनाले सुधार गरेको हो ।

डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्न यो सडकको निर्माण थालनी गरिएको हो । रणनीतिक महत्व बोकेको सो सडक २०६५ सालमा जाजरकोटको पासागाडदेखि निर्माण शुरु गरेर डोल्पा सदरमुकाम दुनैसम्म सडक जोड्नका लागि काम थालनी गरिएको थियो । शुरुको दुई वर्ष रेखाङ्ककन विवाददका कारण निर्माण अवरुद्ध भएको थियो । रेखाङ्कन पुनःनिर्धारण भएपछि २०६६ सालदेखि निर्माणले तीव्रता पाएको थियो ।

जाजरकोट–डोल्पा सडक आयोजनाको दुनैसम्मको ट्रयाक खोल्ने कार्य पूरा गरेर गत मङ्सिर ४ गते त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुराकोट अर्निचौरमा सडक उद्घाटन गरिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको उपस्थितिमा यातायात सञ्चालनमा ल्याएर सडकको उद्घाटन गरिएको थियो । “डोल्पालीले सडक पुग्ला भनेर कल्पनासमेत गरेका थिएनन् तर सेनाले जिम्मा लिएर निर्माण कार्य पूरा गरेपछि दुनैसम्म नै जीप, ट्रयाक्टरलगायतका सवारी साधनहरु गुड्न थालेका छन्”, त्रिपुरासुन्दरी – १ का दुर्गाप्रसाद देवकोटाले भने । “नेपाली सेनाले जिम्मा नलिएको भए डोल्पासम्म मोटर पुग्ने सम्भावना नै थिएन, सडक पुगेपछि बजार भाउ सस्तिएर सर्वसाधारणलाई राहत मिलेको छ”, उनले थपे ।