कृषि

मार्सी धानमा विषादी प्रयोग नगर्न सुझाव

काठमाडौँ । यहाँको मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव दिएका छन् । कृषि ज्ञान केन्द्र जुम्लाले सो विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्दै प्राङ्गारिक जिल्लाकै रुपमा पहिचान कायम गर्ने कार्यमा सघाउन किसानलाई आग्रह गरेको हो ।

लुकीछिपी धानबालीमा झारनाशक विषादी ब्युटाक्लोर प्रयोग भइरहेको गुनासो आएकाले कार्यालयले जनचेतनामूलक सूचना जारी गरिएको केन्द्रका प्रमुख डा. तपेन्द्र शाहले जानकारी दिए । ब्युटाक्लोरलगायतका रासायनिक विषादी प्रयोग गरेमा स्याउ, सिमीसहितका अन्य उत्पादनलाई अर्गानिक प्रमाणीकरण गर्न बाधा पर्ने भएकाले सूचना जारी गरिएको उनको भनाइ छ ।

ब्युटाक्लोर प्रयोग गर्दा मानव स्वास्थ्य, पशुपक्षी, माटो, जल तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने शाहले थप्नुभयो । औषधि नहालेर गोड्न ध्यान दिनुपर्ने उनको जोड छ । विसं २०६४ वैशाखमा भएको १४ औँ जिल्ला परिषद्ले जुम्ला जिल्लालाई अर्गानिक जिल्ला घोषणा गरेको थियो ।

लुकीछिपी ब्युटाक्लोरलगायतका रासायनिक विषादी प्रयोग भएको र बिक्री वितरण गरिएको जानकारी आएकाले किसानलाई सचेत गराउँदासमेत बढी मात्रामा प्रयोग भएको उनले बताए । स्याउ, सिमीलगायतका अन्य कृषिजन्य उत्पादनको बजारीकरणका लागि पहल भइरहेका बेला रासायनिक विषादीको प्रयोगले किसानलाई नैं नोक्सानी हुने कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।

किसानले धान बालीमा अत्यधिक रुपमा ब्युटाक्लोर प्रयोग गर्दा धान कुहिने रोगको समस्या देखिने उनको भनाइ छ । केन्द्रले बारम्बार ब्युटाक्लोर प्रयोग नगर्न किसानलाई आग्रह गरे पनि किसानले सूचनाको अटेर गरी आफ्नो मनोमानी धानमा ब्युटाक्लोर प्रयोग गर्दा पछि गएर धानको डाँट कुहिने समस्या देखिने गरेको जानकारी दिए ।

मार्सी धानसहित यहाँको अर्गानिक बालीको रासायनिक विषादीको विकल्प अर्गानिक जीवजन्तु तथा जैविक मल कारखानाको स्थापना गर्न लामो समयदेखि किसानले माग गर्दै आएका छन् ।