समाचार

२० वर्षीया सुजाताको हत्या गर्ने व्यक्ति नै नगद लुटेरा भएको पुष्टि

फिदिम । मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्सको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको हो ।

उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर जोरपोखरी फर्कदै गर्नुभएकी तामाङलाई जङ्गलको बीचमा रहेको गोरेटो बाटोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार मङ्गलबार अपराह्न पौने ४ बजे विद्यालयबाट घर फर्कने क्रममा एक शिक्षकले तामाङको शव बाटोभन्दा करीब ३० मिटर तल देखेर प्रहरीलाई जानकारी गराएपछि जोरपोखरीस्थित प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक पौडेलका अनुसार झोलामा रहेको नगद लुट्ने क्रममा झोला चुँडिएको र त्यहाँ रहेको नगद लुटिएको पाइएको छ । मृतक तामाङको घाँटी, हात र पेटमा धारिलो हतियार प्रहार गरिएको थियो ।

प्रहरीका अनुसार तामाङले दिउँसो करीब ३ बजे आफ्ना बाबुलाई फोन गरेर आफू कार्यक्षेत्रमामा रहेको जानकारी दिनुभयो । सोही समय आसपासमा उहाँका एक केटा साथीले उहाँ बैठकमै रहेको समयमा फोन गरेका थिए । पछि तामाङले लामो समय फोनमा कुराकानी गरेको पाइएको प्रहरीले जनाएको छ । यस आधारमा तामाङको ३ बजेदेखि ३ः३० बजेभित्र हत्या भएको प्रहरीको अनुमान छ । प्रहरीले तामाङबारे राम्रोसँग जानकारी भएका व्यक्तिबाट हत्या भएको अनुमान गरेको छ ।

“उनीसँग पैसा छ भन्ने जान्ने मान्छेबाटै हत्या भएको हुनुपर्छ”, प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, “कसैले सूचना दिएर वा बाटो ढुकेर हत्या गरिएको हुनुपर्छ । इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङ घर भएकी २० वर्षीया तामाङ केही महीनादेखि एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन् ।

उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको खुलेको छ । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले रकम सङ्कलन गरेर हिँडेकी तामाङबारे कसैले हत्यारालाई सूचना दिएको वा उनीबारे हत्यामा संलग्नले नियमित पिछा गरेको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले मङ्गलबार रातिदेखि घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धान तीव्र पारिएको जनाएको छ । हिलिहाङ गाउँपालिकामै यसअघि गत वैशाख २९ गते १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या गरिएको थियो ।