समाचार

समयमै पार्टीको महाधिवेशन हुनुपर्छ- नेता जोशी

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले समयमा पार्टीको चौधौँ महाधिवेशन हुनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेसका महासमिति एवं महाधिवेशन प्रतिनिधि स्व सुदर्शन आचार्यको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टीलाई चलायमान बनाउन समयमा महाधिवेशन हुनुपर्ने बताएका हुन् ।

नेता जोशीले स्व आचार्यको जीवन पद्धतिबाट पार्टीले धेरै कुरा सिक्नुपर्ने उल्लेख गरे । “अधिकार सम्पन्न स्थानीय तह हुनुपर्ने आवाज उठाउने आचार्य मुलुकलाई विकेन्द्रीकरणको माध्यमबाट विकास गर्नुपर्ने धारणा राख्ने नेता हुनुहुन्थ्यो”, उनले भने । गुठी विधेयक फिर्ताभन्दा पनि खारेज हुुनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले तारकेश्वर क्षेत्रको विकासका लागि स्व आचार्यको त्याग, समर्पण तथा योगदान महत्वपूर्ण रहेको बताए । “हामी फरक पार्टीमा भए पनि जनताको सेवा गर्नेमा आचार्य अत्यन्त चिन्तित थिए, उनको जीवनबाट सबै पार्टीका नेता तथा कार्यकर्ताले सिक्नुपर्छ”, उनले भने ।

नेपाली काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले स्व आचार्यजस्ता हजारौँ नेता तथा कार्यकर्ताको पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताए । काठमाडौँ काङ्ग्रेसको सङ्गठन बलियो बनाउन आचार्यको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति मुकुन्द रिजालले स्व आचार्य घरपरिवारभन्दा बाहिर निस्किएर समाज र देशको निर्माणमा लाग्ने नेता भएको बताए । आचार्यको २०७५ साल असार ४ गते हृदयाघातका कारण ६१ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको नेविसङ्घका नेता सुशान्त आचार्यले जानकारी दिए।