लुम्बिनी

मिर्गौला फेल भएका हेमन्तद्वारा सहयोगका लागि आग्रह

बाँके । दुवै मिर्गौला फेल भएपछि कोहलपुर नगरपालिका–१ कौशिलानगरका हेमन्तसिंह ठकुरीलाई उपचारमा समस्या भएको छ । २८ वर्षीय हेमन्त चार महीनादेखि हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा पुगेको दिदी सुमित्राले बताइन् ।

भाइको स्याहारसुसार गरिहेकी सुमित्राले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । “आर्थिक अवस्था कमजोर छ, उपचार गर्न नसक्दा भाइले मृत्युलाई कुरिरहेको छ”, सुमित्राले भनिन ।

सुमित्राका अनुसार हेमन्त कामको सिलसिलामा गत कात्तिकमा पोखरा गएको १७ दिनपछि घाँटीलगायत शरीरका विभिन्न भागमा घाउ देखापर्न थाल्यो । बिरामी भएपछि काम गर्न नसकेर घर फर्किएका हेमन्तको भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि भर्ना गरिएको थियो ।

गत मङ्सिर ७ गते भेरी अस्पतालले दुवै मिर्गौला फेल भएको जानकारी गराएपछि हेमन्तलाई उपचारका लागि काठमाडौँ र भारतको लखनउसम्म लगिएको थियो । उपचारका क्रममा हेमन्तको दुवै मिर्गौला फेल भएको जानकारी अस्पतालले दिएपछि परिवारमा निराशा छाएको छ । परिवारले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेको छ ।

सिलाइकटाइ गरेर जीविकोपार्जन गर्दै आएकी दिदी सुमित्राले सोही पेशाबाट कमाएको रकम उपचारका लागि खर्च गर्दै आए पनि त्यो पर्याप्त नभएको बताइन् । हेमन्त रुँदै भने, “आर्थिक अवस्था कमजोर भएकै कारण बाँच्ने आश हराएको छ । अहिले उपचार गरी मिर्गौला फेर्न आफूसँग पैसा छैन । उपचार गर्नका लागि चिकित्सकले करीब रु २० लाखसम्म खर्च हुने बताएका छन् । अब मृत्यु कुर्नबाहेक केही उपाय छैन । सबैले सहयोग गरिदिए पहिलेकै अवस्थामा फर्किन सक्ने आशा छ, तर मलाई कसले सहयोग गर्ला र ? ’