पर्यटन/संस्कृति

रिमालको एकल प्रदर्शनी बिहीबारदेखि

काठमाडौँ । इञ्जिनीयर, आर्किटेक्ट तथा चित्रमूर्तिकार शङ्करनाथ रिमालको एकल कला प्रदर्शनी यही असार ५ गतेदेखि हुने भएको छ । तीस वर्षदेखिका आफ्नो चित्र मूर्तिकला तथा आर्किटेक्चर रेट्रोस्पेक्ट एक्जिबिशन९सिंहावलोकन प्रदर्शनी० मा राख्न लागिएको रिमालले जानकारी दिए । “आजसम्म मैले कुनै पनि एकल प्रदर्शनी नगरेकाले यस पटक गर्न लागेको हुँ”, नेपाल कला परिषद्का महासचिव रिमालले भने। आफ्ना काम जनतामा समर्पण गर्ने नै मुख्य उद्देश्य रहेको उनले बताए ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शतवार्षिकी तथा रिमालको ८५ औँ वर्ष प्रवेशका अवसरमा निजी आवास नक्साल नारायणचौरस्थित शङ्कर शशि ग्यालरीमा हुन लागेको प्रदर्शनीमा करीब ५० चित्र, एक सय आर्किटेक्चर र २० मूर्ति राखिने छ । उहाँका चित्र मूर्तअमूर्त दुवै खालको पाइन्छ । जलरङ, एक्रेलिक, पेन एण्ड इन्क, पेन्सिल, चारकोल र मैन माध्यमबाट बनाइएका उहाँका चित्रमा आध्यात्मिकता, स्थिर जीवन, यथार्थवादी, मुहारचित्र, न्यूड, फिगरेटिभ भूदृश्य आदि भाव भेटिन्छ । तामा, ढलोट, काँस माध्यमबाट मूर्तिमा अमूर्त भाव पाइन्छ । नेपाली आधुनिक कलाका पिता लैनसिंह बाङ्देलबाट प्रशिक्षित उहाँ न्यू आर्ट सर्कलका संस्थापक अध्यक्ष र सोसाइटी अफ मोडर्न आर्टका कार्यकारी सदस्य पनि छन् । चार पटक नेपाल इञ्जिनीयरिङ एशोसियशनको नेतृत्व गर्नुभएका राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रिमालको ‘लुम्बिनी चक्र’ शीर्षक पुस्तक प्रकाशित छ भने ‘श्रीयन्त्र’ र आत्मजीवनी प्रकाशनोन्मुख छन् ।

रिमालले नेपालका महत्वपूर्ण सम्पदामध्ये शहीदढोका, नारायणहिटी दरबारको भूदृश्य वास्तुकला, मङ्गल सदन र नानीगञ्ज, नेपाल प्रज्ञा¬ प्रतिष्ठान, सोल्टी होटल, भरतपुरको दियालो बङ्गला, पशुपतिनाथको उन्मत्त भैरव, देवघाटको नर्मदेश्वर र हरिऔनको चतुर्भुजेश्वर मन्दिर, चन्द्रागिरिको भालेश्वर मन्दिर, सिङ्गापुरमा विष्णु मन्दिर र अमेरिकामा हिन्दू मन्दिर, हिँड्ने र खुट्टेघर, सिंहदरबारस्थित पहिलेको परराष्ट्र मन्त्रालय भवन, जनकपुर चुरोट कारखाना, जनकपुरस्थित रामानन्द चोकको ढोका, देवघाटको सन्न्यास आश्रम, नक्साल काठमाडौँको रेयुकाइ भवन, स्या¬ङ्जाको गोरखास्मारकलगायत थुपैै्र निजी भवनको समेत डिजाइन गरेका छन् ।

नेपालको राष्ट्रिय झण्डाको स्तरीकरण गरी मापदण्ड उनले नै तयार गरेका हुन् जुन नेपालको संविधान २०१९देखि हालसम्म कायम नै छ । स्पेस म्यागाजिनको आयोजनामा हुने प्रदर्शनीको उद्घाटन वाङ्मय शताब्दी पुरुष जोशीले गर्नेछन् जुन चार दिनसम्म चल्नेछ ।