राजनीति

नेता पाण्डेको आक्रोसः के बहुमतको सरकार भन्दैमा जनताको भावनाविपरीत काम पाइन्छ ?

काठमाडौँ । राष्ट्रियसभामा प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले समय माग गर्दै गुठी विधेयकका विरोधमा जनता सडकमा उत्रिएपछि प्रतिनिधिसभामा कुरा उठेको बताए । उनले भने, “हाम्रो धर्म, परम्परा, संस्कृतिअनुसार गुठी चलेको छ ।

गुठी भनेको जग्गा मात्र होइन, धर्म, संस्कृति, सभ्यता पनि हो, त्यसमा धावा बोल्ने काम कसैले पनि गर्न हुँदैन । यो विधेयक भूमाफियाको चङ्गुलबाट बनेको छ । यो सरकारले फिर्ता लिनुपर्छ ।” 

नेता पाण्डेले सरकारले विधेयक ल्याउँदा सरोकार पक्षसँग छलफल नै नगरी ल्याएको आरोप लगाउँदै जनताको चाहनालाई सम्बोधन गर्न सरकारलाई आग्रह गरे । सहमतिको राजनीति सत्तापक्षकै नेताले शुरु गर्नुपर्ने बताउँदै उनले प्रतिपक्षको आवाज सदनमा दबाउने प्रयास भएको आरोप लगाए।

“सदन भनेकै प्रतिपक्षको हो । के बहुमतको सरकार भन्दैमा जनताको भावनाविपरीत काम पाइन्छ ?”, नेता पाण्डेले आक्रोस व्यक्त गर्दै भने ।  बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार १० गते अपराह्न १ बजे बस्नेछ ।