राजनीति

प्रमुख प्रतिपक्षी दल काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

काँग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको शुरुमै बोल्न पाउनुपर्नेमा सभामुखले समय उपलब्ध नगरेकाले विरोध गर्नुपरेको जनाएको छ । काँग्रेसका सांसदहरुले आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा सभामुख महराले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहेकाले उनको वक्तव्यपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भने ।

सभामुखले प्रतिपक्ष दलका सांसदलाई उक्त आग्रह गरिरहँदा विपक्षी सांसदले संसदीय मर्यादा कायम गरियोस् र प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्ट्रम अगाडि गएर नाराबाजी गरेका थिए ।सभामुखले विरोध जनाइरहेका सांसदहरूलाई पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भनी पटक पटक आग्रह गरे पनि लगातार नाराबाजी चलिरयो ।

प्रधानमन्त्री ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्ट्रममा उभिरहेका थिए । प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगन गरिएको घोषणा गरे । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूची थियो ।