बाग्मती

मह सङ्कलन केन्द्र निर्माण

भरतपुर । चितवनका तीन स्थानीय तहमा मह सङ्कलन केन्द्र निर्माण गरिएको छ । नेपाली महको बजारीकरण र बाह्य महसँग प्रतिस्पर्धा गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मौरी जोन) चितवनको अनुदान सहयोगमा केन्द्र स्थापना गरिएको हो ।

खैरहनी, राप्ती र कालिका नगरपालिकामा एक÷एक सङ्कलन केन्द्र निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मौरी जोन) चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सेनाले जानकारी दिए । केन्द्र निर्माणका लागि कार्यालयले तीन स्थानीय तहमा ३४ लाख अनुदान सहयोग गरेको छ । मौरी किसान समिति र समूहको कम्तीमा १५ प्रतिशत सहभागिता रहने गरी केन्द्र निर्माण गरिएको उनले बताए ।

“उत्पादन गरिएको महको लटअनुसार प्रशोधन गरेर नेपाल गुणस्तरको लोगो लगाई बजारमा मह उपलब्ध गराउनु केन्द्रको मुख्य उद्देश्य हो”, उनले भने, “यसले सहज बजारीकण र बाह्य प्रतिस्पर्धामा सहयोग पु¥याउँछ ।” शुरुआतको चरणमा केन्द्रमार्फत तीन स्थानीय तहका करीब डेढ सय किसान लाभान्वित हुने तिमिल्सेनाले जानकारी दिए ।

सङ्कलन केन्द्रको प्रभावकारिता हेरेर मौरी जोनमार्फत आगामी वर्ष योभन्दा ठूला मह सङ्कलन केन्द्र स्थापना गरिने उनको भनाइ थियो । सङ्कलन केन्द्र स्थापनासँगै कार्यालयले मह सङ्कलन हुने क्षेत्रका किसानलाई मेशिनरी औजार वितरण, तालीमलगायतका कार्यक्रम सञ्चालन गरेको छ ।

मौरी जोनअन्तर्गत पाँच समूहका ५५ कृषि फार्म र २१० जना व्यावसायिक मौरीपालक किसान आबद्ध छन् । आर्थिक वर्ष २०७५÷७६ बाट चितवनलाई नेपालकै पहिलो मौरी जोन घोषणा गरिएको हो । चितवनका चार स्थानीय तह र मकवानपुरको राक्सिराङ गाउँपालिकामा मौरी जोनअन्तर्गतका कार्यक्रम सञ्चालनमा छन् । मौरी जोन सञ्चालनका लागि किसानहरुको नौ सदस्यीय सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको छ । चितवनमा वार्षिक ८०० मेट्रिक टन मह उत्पादन हुन्छ ।