गण्डकी प्रदेश

एक निर्वाचन क्षेत्र एक सडक निर्माण शुरु

कास्की । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत कास्कीमा योजना कार्यान्वयन शुरु भएको छ ।

आगामी पाँच वर्षभित्र प्रदेश राजधानी र स्थानीय तहको केन्द्र जोड्ने गरी स्तरीय कालोपत्र सडक निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सो कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको थियो । आगामी वर्षको बजेट कार्यक्रममा पनि सो कार्यक्रम उल्लेख गरिएको छ ।

गण्डकीका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक/एक नमूना सडक निर्माण गर्ने उद्देश्यले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेश राजधानी र दुई जिल्ला वा जिल्लाको सदरमुकामबाट स्थानीय तहको केन्द्रलाई जोड्ने सडकलाई प्राथमिकता दिई सडक स्तरोन्नति गर्न सरकारले बहुवर्षीय योजनाअन्तर्गत सो सडक निर्माण कार्यक्रम ल्याएको थियो ।

प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा सो कार्यक्रम कार्यान्वयनका क्रममा हालसम्म चार वटा सडक योजना निर्माणका लागि सम्झौता भएर काम शुरु भएको र दुई वटाको बोलपत्र आह्वान भएर प्राविधिक मूल्याङ्कनको चरणमा रहेको पूर्वाधार विकास कार्यालय कास्कीका कार्यालयप्रमुख शोभियत खड्काले बताए । सरकारले सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधित्वि गर्ने प्रदेशसभा सदस्यको सिफारिशमा त्यस्ता सडक योजनाहरु छनोट गरेको थियो ।

प्रदेशसभा निर्वाचन क्षेत्र ३ (ख) अन्तर्गत नयाँ पुल–बिरेठाँटी–घान्द्रुक उरी सडक स्तरोन्नतिका लागि शर्मा÷सूर्य जेभीसँग सम्झौता भएर काम शुरु भइसकेको छ । आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको १० किमी सो सडक रु १९ करोड ७१ हजार १८६ लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

निर्वाचन क्षेत्र १ (क) अन्तर्गत रुपा रिङरोड सडक निर्माण कार्य पनि जेठको पहिलो हप्ताबाट शुरु भएको छ । रु १९ करोड ७१ लख ८७ हजार १४७ लागतमा ओएसिस इञ्जिनीयरिङ एण्ड बिल्डर्ससँग १० किमी सडक स्तरोन्नतिको सम्झौता गरिएको कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नं १ (ख) को काहुँखोला–सिक्लेस दूधपोखरी सडक निर्माणको कार्य पनि शुरु भएको छ । सपना काष्ठमण्डप जेभीसँग रु २२ करोड २६ लाख ७८ हजार ८५३ लागतमा १० किमी सडक दुई वर्षभित्रमा पूरा गर्ने गरी सम्झौता भएर काम अघि बढेको हो ।

त्यसैगरी कास्की क्षेत्र नं २ (क) को पोखरा महानगर २१ दोपहरे कृष्ति माझगाउँ बक्रेकसम्मको १२ दशमलव छ किमी सडक पनि स्तरोन्नति शुरु भएको छ । रु २२ करोड ९८ लाख ९७ हजार ३५ लागतमा रमन/भीमेश्वर जेभीले सो सडक निर्माणको जिम्मा लिएको छ ।

क्षेत्र नं ३ (क) को पोखरा २५ मिलनचोकबाट मर्दी पुल हुँदै माछापुच्छ्रे गाउँपालिकाको केन्द्रसम्म पुग्ने र क्षेत्र नं २ (ख) को नारायणधानदेखि भलाम हुँदै अर्मलासम्मको यी दुई सडक योजना स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएर प्राविधिक मूल्याङ्कनको चरणमा रहेको कार्यालयका इञ्जिनीयर गुरुदत्त अधिकारीले बताए । मिलनचोकबाट माछापुच्छ्रे सम्मको चार दशमलव ९७ किमी सडक स्तरोन्नति गर्नका लागि रु १५ करोड ४३ लाख ७३ हजार ८८४ को बोलपत्र आह्वान भएको छ ।

त्यस्तै नारायणथानदेखि अर्मलासम्मको १० किमी सडक स्तरोन्नति हुने भएको छ । जसका लागि रु ३१ करोड ७३ लाख ७३ हजार ७८० लागतको बोलपत्र आह्वान गरिसकिएको छ । अधिकारीका अनुसार यी दुई सडक योजनाको पनि छिट्टै प्राविधिक मूल्याङ्कन सम्पन्न गरेर उपयुक्त निर्माण कम्पनीसँग सम्झौता गरेर काम शुरु गरिनेछ ।