आर्थिक

खोज पत्रकारिता तालीम शुरु

रुपन्देही । उत्तरदायी स्थानीय सरकारका लागि खोज पत्रकारिता कार्यशाला आजदेखि बुटवलमा शुरु भएको छ । शेयर काष्ट इनिसिएटिभ नेपाल र अमेरिकी दूतावासको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा शुरु भएको खोज पत्रकारिता कार्यशालामा रुपन्देहीका ४० पत्रकारको सहभागिता रहेको छ ।

तीन दिनसम्म चल्ने कार्यशालामा खोज पत्रकारिता केन्द्रका शिव गाउँले, सुशासनविद् विनोद उपाध्याय, शेयरकाष्टका कार्यकारी निर्देशक मधु आचार्यलगायतले सहजीकरण गर्नेछन् ।

कार्यशालाको शुरुआत गर्दै शेयरकाष्टका कार्यकारी निर्देशक मधु आचार्यले विषय बुझने क्षमता भएर पनि पत्रकारिताको सीप कम हुँदा खोजमूलक पत्रकारिता ओझेलमा परेको बताए । उनले स्थानीय तहको काम प्रभावकारी बनाउन खोजमूलक पत्रकारितामार्फत दबाब र खबरदारी जरुरी रहेको धारणा राखे ।

अमेरिकी दूतावासका प्रतिनिधि प्रेरणा मरासिनीले स्थानीय सरकारको कामकारवाही प्रभावकारी बनाउन सबै प्रदेशमा खोजमूलक पत्रकारिता कार्यशाला आयोजना गरेको बताए । पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले स्थानीय सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन तालीम महत्वपूर्ण हुने बताए।