राजनीति

काँग्रेस नेता/कार्यकर्ताले यसरी लगाए नयाँ सडकमा डोजर !

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ स्थित डेडीथुम्का क्याम्पस हुँदै कश्यपेश्वर महादेव मन्दिर जाने सडक तथा पर्खाल निर्माणलगत्तै भत्काइएको छ । हेलम्बु राजमार्गमा सवारीको चाप बढ्दा कुन्ताबेँसीबाट वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने तथा मन्दिर जान समेतका लागि निर्माण गरिएको सडक नेपाली काङ्गे्रसका स्थानीय नेता/कार्यकर्ताले डोजर लगाएर भत्काएका हुन् ।

नेपाली काङ्ग्रेस मण्डन देउपुर नगरका सभापति रामहरि सापकोटाले उक्त स्थानमा वैकल्पिक सडक हुन नसक्ने भएकाले आफूहरुले भत्काएको बताए । उनले भने, “कुवा तथा किरियापुत्री जाने बाटो बिगारिदिएकाले हामीहरुले अवरोध गर्दै भत्काइदियौँ, बाटो र सिँढी बनाइदिन्छौँ भने, अहिलेसम्म बनाउने सुरसार छैन ।” उनले वडाध्यक्ष नारायण लम्सालकै उपस्थितिमा सडक भत्काइएको जिकिर गरे ।

उक्त स्थानमा वैकल्पिकरूपमा प्रयोग गर्न सकिने उद्देश्यले मण्डन उपत्यका समाजिक उत्थान मञ्चद्वारा निर्माण शुरु गरिएको दुई किलोमिटर सडक निर्माणाधीन अवस्थामा थियो । नेता सापकोटाले काङ्ग्रेसका वडाध्यक्षका पराजित उम्मेदवार गङ्गालाल श्रेष्ठको सहयोगमा पार्टीका स्थानीय कार्यकर्ताको एक टोली बनाएर सडक भत्काइदिएको मञ्चका अध्यक्ष होमप्रसाद चौलागाइले बताए । उनले भने, “सडक निर्माणका क्रममा कुवा तथा किरियापुत्री जाने बाटो भत्किए पनि हामीले अझ व्यवस्थित ढङ्गले बाटो र सिँढी बनाइदिने भन्दाभन्दै उनीहरुले डोजरसमेत लगाएर बनाइसकिएको स्थानको सडक तथा पर्खाल भत्काइदिए ।”

नगरका उपप्रमुख निर्मला शाहीले सडक निर्माणका क्रममा भत्किएको बाटो बनाइदिने योजना रहेको बताउँदा पनि दम्भका साथ मेसिन नै लगाएर निर्माण भएको सडक र पर्खाल भत्काउनु गलत भएको बताए । “निर्माणका क्रममा केही संरचना बिग्रिए भनेपछि बनाउनैपर्छ, तर राजनीतिक ‘इगो’ साँधेर डोजरै लगाएर बाटो भत्काउनु दुर्भाग्यपूर्ण अवस्था हो”, उनले भने।