लुम्बिनी

विकट गाउँपालिकामा प्राविधिक शिक्षाः जहाँ पशुलाई झारफुक गरिन्छ

लमही । सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो ।

राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका सल्लाहकार जीवन गौतम र प्रदेश नं ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्राविधिक शिक्षाको उद्घाटन गरेका हुन्।

त्यस अवसरमा सल्लाहकार शर्माले सरकारले एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुरुप राजपुरमा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको बताए । यस वर्षदेखि कक्षा ९ बाट पशु प्राविधिक शुरु भएको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर चौधरीले बताउनुभयो । यसलाई वर्षेनी निरन्तरता दिँदै कक्षा १२ सम्म पशु विज्ञान पढाउने उनको भनाइ छ ।

उक्त विद्यायल गाउँपालिकाको एक मात्रै १०ं२ सञ्चालन गर्ने विद्यालय भएकाले उक्त विद्यालयमा पशु विज्ञान पढाइ शुरु हुनु समग्र राजपुरका लागि ठूलो सफलता भएको समेत उनको भनाइ छ । “यस गाउँपालिकामा अहिलेसम्म एउटा पनि प्राविधिक शिक्षालय थिएनन्”, उनले भने, “तर अहिले हामीले सञ्चालनमा ल्याएका छौँ, यो राजपुर गाउँपालिकाका लागि ठूलो सफलताको विषय हो ।”

प्राविधिक शिक्षा सञ्चालनमा आएपछि विद्यार्थी पनि खुशी भएका छन् । “यसअघि प्राविधिक शिक्षा पढ्नका लागि कि त लमही कि घोराही जानुपथ्र्यो”,’ छात्र सञ्वत यादवले भने, “अब भने गाउँमै प्राविधिक शिक्षा पढ्न पाइने भयो ।” शुरुआतमा ३६ छात्र र १९ छात्रा गरी ४५ ले पशु विज्ञान अध्ययन गर्न पाउने विद्यालयकी प्राविधिक संयोजक सन्तोषी चौधरीले बताए । विसं २०६७ मा उक्त विद्यालयले १०ं२ सञ्चालनमा ल्याएको थियो । त्यस अवसरमा प्रदेशसभा सदस्य शर्माले उक्त प्राविधिक शिक्षाको विकासका लागि प्रदेशबाट पहल थाल्ने प्रतिबद्धता जनाए ।