समाचार

गागलफेदी पुग्न गागलफेदी यातायात

साँखु । कागेश्वरी मनोहरा नगरपालिका–१ को गागलफेदीदेखि रत्नपार्कसम्म चल्ने गागलफेदी यातायातले आफ्नो सेवा शुरु गरेको छ । गागलफेदी यातायात प्रालिले सञ्चालनमा ल्याएको बस सेवाबाट नगरपालिकाको गागलफेदीका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने भएको छ ।

सीमित सवारीसाधनका कारण सधैँ जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउँदै स्थानीयवासीको सहजताका लागि यातायात सेवा विस्तार गरेको यातायात प्रालिका अध्यक्ष मधुसुदन केसीले बताए । स्थानीयवासीको पहलमा ल्याइएकोे बस सेवाले गागलफेदीदेखि रत्नपार्कसम्मको यातायात सुविधा दिनेछ ।

उक्त यातायातमा महिलाका लागि १०, पत्रकारका लागि एक र अशक्तका लागि चार अरक्षण सिटसमेत राखिएको छ । उक्त यातायातको प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्ण राईले उद्घाटन गर्दै सञ्चालनमा ल्याइएको थियो ।

स्थानीयवासीको पहलमा ल्याइएको यातायात प्रालिमा भन्दा पनि पब्लिकमार्फत सञ्चालन गर्न सांसद राईले आग्रह गरेका थिए । पब्लिक मार्फत सञ्चालन गर्दा आर्थिक पारदर्शिता हुने र थप पूँजी निर्माणका लागि सहज हुने उनको भनाइ थियो ।