प्रदेश 1

बजेटको आकार ठूलो, नयाँ कार्यक्रमको अभावः नेता कोइराला

बिराटनगर । प्रदेश नं १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको आगामी आव २०७६/७७ को वार्षिक बजेटको आकार ठूलो भए पनि नयाँ कार्यक्रम केही नभएको बताएका छन् ।

प्रदेश पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता कोइरालाले प्रशस्त रोजगार सिर्जना गर्ने क्षेत्रमा बजेट न्यून छुट्याएको बताए । उनले बजेट विगत वर्षको निरन्तरता भएको टिप्पणी गरे । अनुदानमा आधारित बजेटले खासै महत्व नराख्ने कोइरालाको भनाइ थियो । “बजेट कनिका छरे जस्तै बाँडफाँट गरिएको छ”, उनले भने ।

कार्यक्रममा डा स्वर्णिम वाग्ले, राजु नेपाल र डा गोविन्दराज पोखरेलले बजेट समाजवादोन्मुख नभएको आरोप लगाए । बजेटले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न नसक्ने उनीहरुको भनाइ थियो । नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले बजेट कार्यान्वयनमुखीभन्दा पनि प्रचारमुखी रहेको प्रतिक्रिया दिए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले बजेटले उद्योग क्षेत्रलाई सम्बोधन गरेको प्रतिक्रिया दिए । उनले बजेट कार्यान्वयन गर्न सरकारले ठोस कदम चाल्नुपर्ने सुझाव दिए । मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष पवन शारडाले सरकारले उद्योगलाई प्रोत्साहन गर्ने गरी रकम विनियोजन गर्नु सकारात्मक पक्ष भएको बताए ।