समाचार

बझाङमा जीप दुर्घटनाः ६ जनाको मृत्यु, ६ जना गम्भीर घाइते

बझाङ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से.१ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्वार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

६ जनाको उद्वार गरि सके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उनले बताए । अहिलेसम्म ६ जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । उद्वारका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।