राजनीति

काङ्ग्रेसको चेतावनीः गुठी विधेयक फिर्ता नलिए सडकमा उत्रिन्छौँ

काठमाडौँ । सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छन् । केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियोे ।  प्रतिनिधिसभाको आजको बैठकको शुरुआतमा नेपाली काङ्ग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बढूलाई बोल्न समय उपलब्ध गराएपछि उनले उक्त विधेयक फिर्ता नलिए सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

सांसद बढूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रममा उक्त विधेयक फिर्ता नलिने अभिव्यक्ति दिएकामा सोही विषयलाई लिएर काङ्ग्रेसले बैठकमा उठेर विरोध जनाएको थियो ।

मन्त्री बाँस्कोटाले केही समय अघि एक सार्वजनिक समारोहमा गुठी सामान्ती अवशेषको रूपमा रहेको धारणा व्यक्त गरेको भन्दै सांसद बढूले दुई तिहाइको दम्भको उन्मादले वर्तमान सरकार धर्म, परम्परा, संस्कार, सम्पदा, संस्कृति र मौलिकता मास्न लागिपरेको आरोप लगाए । सांसद लक्षमणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन फिर्ता हुनुपर्ने माग गरे ।

उनले मौलिक हकको धारा ४२ विपरीत आयोगले सो विज्ञापन आह्वान गरेको आरोप लगाए ।  आयोगले जेठ १५ गते नौ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेकामा असार १ गतेसम्म एक लाख ६० हजारको निवेदन दर्ता भइसकेको छ ।