पर्यटन/संस्कृति

सगरमाथा आरोहण गर्ने भारतीय धेरै, भारतका ६१ पुगे

काठमाण्डौ । सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

यस याममा सगरमाथा आरोहणका लागि सात नेपालीसहित ४४ वटा आरोहण दलका एक हजार २४ जनाले विभागबाट आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सगरमाथा आरोहण गर्न सफल भएको विभागले जनाएको छ ।

भारत र चीनपछि अमेरिकन आरोहीको सङ्ख्या बढी छ । अमेरिकाका ४२ जनाले सगरमाथा आरोहण गरेका छन् । संयुक्त अधिराज्य बेलायतका २९ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सगरमाथा आरोहण गर्नेमध्ये ६७ जना महिला आरोही छन् । जसमा सबैभन्दा बढी १८ जना चिनियाँ महिला आरोही छन् ।

नेपाली महिला आरोही ६ जनाले सगरमाथा चढेको विभागको तथ्याङ्क छ । नेपालसहित ४९ देशका आरोहीले सगरमाथा आरोहणमा गएका थिए । जसमध्ये छ मुलुक संयुक्त अरब इमिरेट, कोरिया, स्पेन, डोमिनिकन रिपब्लिक, इरान, पेरु र रिपब्लिक अफ बोत्स्वानाका आरोही सगरमाथा चढ्न असफल भएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस यामको सगरमाथा आरोहणका क्रममा आठ जनाको मुत्यु भएको र एक जना हराइरहेको पनि विभागले उल्लेख गरेको छ ।