समाचार

प्रधानसेनापति थापा जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान

काठमाण्डौ । नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति पूर्णचन्द्र थापा जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आज प्रशथान गरेका छन् । उक्त ७ गतेसम्म सप्ताहव्यापी औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित आज मित्रराष्ट्र चीनतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो । यसअघि उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा हुन लागेको चीन भ्रमणको दौरान प्रधानसेनापति महारथी थापाले चीनका विभिन्नत सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाटलगायत ऐतिहासिक स्थलहरुको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वा्स नेपाली सेनाले लिएको छ ।

उक्त अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।