शिक्षा

‘सामुदायिक विद्यालयबाट असल नागरिक उत्पादन हुनुपर्छ’

काठमाडौँ । सामुदायिक विद्यालयले देशभक्त तथा असल नागरिक उत्पादन गर्ने पाठ्यक्रमसहितको कार्ययोजना ल्याउनुपर्ने सुझाइएको छ । सामुदायिक विद्यालयमा समय सापेक्ष शिक्षाको विकास हुन नसकेका कारण विद्यार्थी घट्दो क्रममा रहेको अवस्थामा ती विद्यालयले अब नयाँ पाठ्यक्रम विकास गरी राष्ट्रलाई माया गर्नुपर्छ भन्ने आदर्श, असल आचरण भएको दक्षजनशक्ति उत्पादन गर्ने स्थलका रुपमा विकास गर्नुपर्ने सुझाव विज्ञबाट आएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं– ८ अन्तर्गतका १८ सामुदायिक विद्यालयका प्रतिनिधि, विज्ञ र जनप्रतिनिधिले मुलुकका राजनीतिक, प्रशासनिकलगायत सबै तहलाई आवश्यकपर्ने नैतिकवान नागरिकको अभाव रहेका कारण राष्ट्र निर्माणले गति लिन नसकेको ठहर गरेका हुन् ।

व्यवस्थापन समितिको तर्फबाट प्रयागराज सुवालले विसं १९९७ मा राणा शासनको विरुद्धमा जनमत तयार गर्न औपचारिक तथा अनौपचारिक रुपमा स्थापना गरिएका गुरुकुल तथा शिक्षालयले असल नेता उत्पादन गर्ने लक्ष्य राखेका स्मरण गर्दै शुक्रराज शास्त्रीले नेपाली र गङ्गालाल श्रेष्ठले अङ्ग्रेजी भाषा अध्यापन गराएको बताए ।

त्यससमय देशमा विकास भएको राष्ट्रप्रेम र स्वतन्त्रताको शिक्षाले शास्त्री र श्रेष्ठसहित धर्मभक्त माथेमा र दशरथ चन्दलाई शहीद बन्न अभिप्रेरणा मिलेको उनले बताए । सामुदायिक विद्यालयका सञ्चालक समितिमा हुने राजनीतिक हस्तक्षेपले गर्दा अहिले शैक्षिक गुणस्तर खस्किएको छ । केही शिक्षक आफ्नो पेशाप्रति जिम्मेवार बन्न नसकेका कारण विद्यार्थी तथा समग्र विद्यालयको स्थिति कमजोर बन्दै गएको छ ।

सामुदायिक विद्यालय र निजी विद्यालयको नतिजामा देखिएको ठूलो अन्तरले वर्तमान शैक्षिक अवस्था सन्तोषजनक छैन । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले २१औँ शताब्दीमा देश विकासका लागि राज्यका विभिन्न तहमा आवश्यकपर्ने जनशक्ति निर्माण गर्न सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका श्रेष्ठले विद्यालयको सवल र दुर्वल पक्षको अध्ययन गरी नयाँ रणनीति विकासका लागि जनप्रतिनिधिबाट गरिएको अपेक्षा पूरा गर्न आफू प्रतिवद्ध रहने जनाए ।

विद्यालय निरीक्षण तथा सुपरीवेक्षण गर्ने, गराउने काम नियमितता छैन । शिक्षा नियमावलीका अनुसार निरीक्षकले महीनामा कम्तीमा एक पटक विद्यालयको निरीक्षण तथा सुपरीवेक्षण गर्ने, गराउने र त्यसरी निरीक्षण तथा सुपरीवेक्षण गर्ने क्रममा प्रधानाध्यापक र व्यवस्थापन समितिसँग छलफल गर्ने व्यवस्था छ । अहिले स्थानीय तहको क्षेत्राधिकारभित्र विद्यालय व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी दिइएको छ ।

कालिमाटीस्थित जनप्रभात मावि सञ्चालक समितिका अध्यक्ष रामशरण डङ्गोलले शिक्षा पेशा समाजमा पवित्र मानिएको बताउँदै बाफलस्थित ज्ञानोदय माविलगायत केही सामुदायिक विद्यालयले व्यवस्था गरेका शिक्षक तथा विकास गरेका पाठ्यक्रमले नमूना विद्यालयका रुपमा महत्व स्थापित गरेकाले उनीहरुलाई अनुशरण गर्नुपर्ने बताए ।

कतिपय सामुदायिक विद्यालयमा निरीक्षक तथा स्रोत व्यक्तिले अनुगमन गर्न नभ्याउने हुँदा शिक्षकको हाजिरी अभिलेखमा समेत समस्या हुने गरेको छ । समुदायलाई विद्यालय हस्तान्तरण गरेर सरकारले केही रकम उपलब्ध गराउनु भन्दा एकीकरण गरी विद्यालयको शैक्षिक र प्राज्ञिक वातवरण सुधार्न आवश्यक छ ।

विद्यालय समयमा नपढाउने शिक्षक, कार्यस्थलमा नरहने, राजनीतिक गतिविधिमा देखिएका शिक्षकले प्राज्ञिक क्षेत्रमा योगदान गर्न सक्तैनन् । काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङगोलका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आफ्नो संस्थाले आवश्यक भएमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ ।