गण्डकी प्रदेश

बाख्रापालनबाट वार्षिक ७० लाख भित्र्याउँदै मौजा गाउँ

पोखरा । अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । पोखरा महानगरपालिकामा रहेर पनि विकट रहेको मौजामा व्यावसायिक रुपमा शुरु बाख्रापालनबाट किसानले प्रत्येक वर्ष पोखरा बजार र आसपासमा खसी, बोका माहु बाख्रा बिक्री गरेर गाउँमा उक्त रकम भित्रिएका हुन् ।

प्रदेशको ‘बाख्रा हब’को रुपमा विकसित सो गाउँका ४६ जना किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएको मौजा बाख्रापालन कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए । गाउँमा यतिखेर दुई हजार ७०० को सङ्ख्यामा बाख्रा रहेको बताउँदै उनले बाख्रा खरीद, खोर निर्माण र घाँसको व्यवस्थापनलगायतमा किसानको हालसम्म रु चार करोडभन्दा लगानी भइसकेको छ ।

जमुनापारी, खरी, सिनाल, बोयर, सानानलगायत विभिन्न जातका बाख्रालाई उन्नत जातको बेयर बोकाबाट प्रजनन गर्दै नश्ल सुधार गर्दै आएको बताउँदै उनले अहिले प्रजननका लागि जिउँदो बोयर बोका प्रति केजी एक हजार र अन्य बोकाको मासुको लागि रु ५०० का दरले बिक्री हुने गरेको बताए ।

“उत्पादित खसी बोका बिक्री हुँदैन कि भन्नुपर्दैन, पोखरा बजारबाट खरीदका लागि व्यापारी खोरमै आउने गरेका छन्,” अध्यक्ष गुरुङले भने । उनका अनुसार सहकारीमा आवद्ध अन्य शेयर सदस्यलाई समेत व्यावसायिक बाख्रापालनमा प्रेरित गर्ने सोच अघि बढाइएको छ ।

खोरमा कम्तीमा पाँचवटा बाख्रा हुने किसानलाई सहकारीको शेयर सदस्य बनाउने मापदण्ड बनाइएको उल्लेख गर्दै उनले एउटै खोरमा साना ठूला गरी दुई सय वटासम्म बाख्रा पाल्ने किसान रहेको जानकारी दिए ।

घाँसमा आधारित बाख्रापालनलाई जोड दिँदै आइएकामा त्यसका लागि राइखनियो, दुदेलो, इपिलइपिल जस्ता विभिन्न जातका घाँससमेत उत्पादन गर्ने गरिएको छ । हिउँदको मौसमको लगभग छ महीना बाख्रालाई जङ्गलमा घाँस चराउनका लागि सामूहिक खोर निर्माण गरिएको छ ।

विदेश जानका लागि आफन्तसँग लिएको ऋणबाट १० वटा माहु बाख्रा खरीद गरेर शुरु गरेको बाख्रापालन फस्टाएर अहिले मौजा आँटिघरमा रहेको खोरमा १२५ वटा बाख्रा पुगेका छन् । खशी, बोका र माहु बाख्रा बिक्रीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ । स्थानीय बासिन्दा गोविन्द सापकोटाका अनुसार यतिखेर खोरमा साना ठूला गरेर दुई सय बाख्रा पुगेका छन्, खसी बोका बिक्रीबाट वार्षिक सात लाख भन्दा बढी आम्दानी हुने गरेको छ ।

सहकारीमार्पmत बाख्राका साथै मौसमी तथा बेमौसमी तरकारी खेती र व्यावसायिक भैँसी, लोकल कुखुरापालनमा जोड दिने तयारी गरिएको छ । व्यावसायिक कृषि एवं पशुपालनका लागि दक्ष प्राविधिक र उत्पादित वस्तु ढुवानीमा यातायात साधनको समस्या परेको दुखेसो उनले सुनाए ।

मौजाकै हिराजङ्ग गुरुङले ११० वटा र टेकबहादुर गुरुङले ७० बाख्रा पाल्नु भएको छ । उनीहरूले वार्षिक क्रमशः रु छ लाख र रु चार लाख आम्दानी गरी घर सञ्चालन गर्दै आएको बताए । बाख्रापालनमा सो क्षेत्रका युवाको पनि सक्रिय सहभागिता छ ।

स्थानीय जातका बाख्रालाई उन्नत जातको बोका दिएर गरिएको प्रजननबाट जन्मेका पाठापाठीबाट बढी उत्पादन हुने गरेको बताउँदै किसानले बाख्रामा अहिलेसम्म खासै रोग लागेको छ्रैन । जङगल र घरबारीमा लगायतको डाले घाँसले बाख्रापालनमा सहयोग पुगेको सामूहिक धारणा छ ।

पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङका अनुसार मौजालाई बाख्रा, भैसी, कुखुरापालन र ताजा तरकारी उत्पादनको नमूना पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै सरकारको सहयोग अपरिहार्य रहेको छ ।

सरकारबाट प्रदान गरिने अनुदान सर्वसुलभ तरिकाबाट वास्तविक किसानले पाउनुपर्नेमा जोड दिँदै उनले पशुपालन र कृषिका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन आप्mनोतर्पmबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।