मनोरञ्जन

लघु चलचित्र ‘माला’को विशेष प्रदर्शन सम्पन्न

काठमाण्डौ । लघु चलचित्र ‘माला’ को विशेष प्रदर्शन सम्पन्न भएको छ । परिवर्तनका लागि मानव समाज नेपालले निर्माण गरेको उक्त चलचित्र ‘माला’ आज राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।

कवि तथा सञ्चारकर्मी डा नवराज लम्सालले परिवर्तन आफैँबाट शुरुआत गर्नुपर्नेमा जोड दिँदै समाजमा हुने हरेक गतिविधिलाई सामाजिक विभेदभन्दा माथि उठेर जान आवश्यक रहेको बताए। डा लम्सालले परिवर्तनका लागि मानव समाज नेपालले गरेका क्रियाकलापलाई अभिभावकत्व प्रदान गर्ने र उपत्यकाभित्र लघु चलचित्र ‘माला’ प्रदर्शन गर्दा आफू कुनै पनि हालतमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली समाजमा यथावत छुवाछूतप्रथा, दाइजोप्रथा, बोक्सीप्रथा, छाउपडीप्रथा, बलात्कार, लागुपदार्थ सेवन आदि विषयलाई निरुत्साहित गर्ने उद्देश्यले ‘माला’ निर्माण गरेको परिकल्पनाकार प्रयास कुमारले बताए ।

सःशुल्क टिकटको व्यवस्थासहित प्रदर्शनीमा ल्याइएको सो लघु चलचित्र ‘माला’ बाट सङ्कलित रकमको २५ प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने परिवर्तनका लागि मानव समाज नेपाल अध्यक्ष कृष्णहरि पुडासैनीले विश्वास व्यक्त गरे । त्यस्तै समाजका विकृति विसङ्गतिलाई न्यूनीकरण गर्न पहल लघु चलचित्र ‘माला’ ले सहयोग पु¥याउने अध्यक्ष पुडासैनीले बताए ।

त्यस्तै परिवर्तनका लागि मानव समाज नेपालका बारेमा स्पष्ट पार्दै देशका विभिन्न सङ्घसंस्थासँग सहकार्य गर्दै उपत्यका बाहिरका विभिन्न ठाउँमा प्रदर्शन गरी समाजमा विकृति विसङ्गतिका विरुद्ध सन्देश दिने लक्ष्य लिएको पनि सचिव ओमप्रसाद सञ्ज्यालले बताए ।