पत्रपत्रिका

प्रधानमन्त्री रोजगारबाट नेकपा अध्यक्षको निर्देशन अनुसार गोबर सोहर्ने काममा लगाईयो

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई व्यक्तिका गाई फर्म र कृषि फर्ममा काम गर्न खटाएको छ ।

गाउँपालिकाले १५ जनालाई ७ वडामा विभिन्न व्यक्तिका फर्महरुमा काम गर्न खटाएको हो ।

व्यक्तिगत फर्ममा काम गर्नेहरुलाई फर्म मालिकले गोबर फाल्ने, घाँस काट्ने र बारी खन्ने काममा लगाएका छन् ।

वडा नम्बर ४ जैसिथोकका रामप्रसाद पोखरेलले सोही वडाका गोपाल कुँवरको गाईगोठमा गोबर फाल्ने काम पनि गरेको बताए । “छनोट भएपछि तपाइँ गोपाल कुँवरकोमा जानुस् भनेर अध्यक्षले पठाउनुभयो” उनले भने, “उहाँको गाईगोठमा गोबर फाल्ने, घाँस ल्याउने र बारीमा टनेल बनाउनका लागि खन्ने काम गरेको छु ।”

रोजगारी दिनेले नै पठाएपछि आफूले व्यक्तिको गोठमा गोबर फाल्ने काम गर्नुपरेको उनको गुनासो छ ।

फर्म सञ्चालक कुँवर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिकाका अध्यक्ष हुन् ।

गाउँपालिकाले स्थानीय कमल कुँवरको गाई फर्ममा पठाएकी शारदा नेपाली भने काममा गएकी छैनन् । “वडाअध्यक्षले हाम्रो गाईफर्ममा पनि काम गर्न मान्छे आउँदैछन् भन्नुभएको थियो, तर उहाँ अहिलेसम्म आउनुभएन ”, कमलले भने ।

शारदाले भने यसबारे केही प्रतिकृया दिन चाहिनन् ।

श्रम मन्त्रालयले तयार पारेको कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यविधि, २०७६ मा विभिन्न आठवटा क्षेत्रहरुलाई प्राथमिकता दिएर कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।

कार्यविधिको दफा ३ (९) मा सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसरफाइ, शिक्षा, वन तथा जलाधार, पर्यटन र स्थानीय आवश्यकता अनुसारका अन्य श्रमप्रधान आयोजनाहरुमा खटाउने व्यवस्था छ । तर व्यक्तिगत फर्महरुमा काममा लगाउन नमिल्ने श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले कृषि तथा पशुपलानको क्षेत्रमा १५ जना कामदार खटाएको स्वीकारे । तर गोठमा काम गर्न नपठाएको उनको भनाइ छ । “फर्ममा सिँचाइ, कुलो, आकाशे पानी संकलन लगायतको काम गर्न पठाएको हो ”, उनले भने ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धुर्कोट गाउँपालिकामा एक सय ५० जनाले रोजगारी पाएका छन् ।

जसमध्ये शिक्षण संस्थामा १३ जना, स्वास्थ्य संस्थामा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिंचाई कुलो मर्मतमा १५ जना, विद्युत मर्मतमा ७ जना, खानेपानी मर्मतमा १५ जना र सडक मर्मतमा १५ जना छन् । हिमालखबरमा समाचार छ ।