बाग्मती

विपद् व्यवस्थापनका सम्पूर्ण तयारी पूरा

भक्तपुर । जिल्लामा आइपर्ने कुनै पनि विपद्को पूर्व तयारी एवं तत्काल उद्धार गरी विपद् व्यवस्थापन गर्न सम्पूर्ण तयारी पुरा भएको छ । नेपाली सेना बीरदल गणले आज मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीमा आयोजना गरेको डुबानमा परेकाको उद्धार एवं प्राथमिक उपचार सम्बन्धी डेमोस्टेशन अर्थात परीक्षण प्रदर्शनमा भक्तपुर कुनै पनि विपद्को उद्धारका लागि सक्षम भएको बताइएको छ ।

गत असार २७ गते परेको भिषण वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढीले मध्यपुरथिमि क्षेत्रका बस्ती डुबानमा पर्दा उद्धार सामग्रीको अभावमा झेल्नुपरेको समस्या अब नदोहरिने सरोकारवालाले बताएका हुन् । गत वर्षको डुबानमा उद्धार सामग्री नहुँदा सुन्दरीजलबाट नेपाली सेनाको ब्यारेकबाट बोट (डुङ्गा) लगायतका उद्धार सामग्री मगाउनु परेको थियो ।

डुबानपछि क्षेत्र नं–२ का प्रतिनिधिसभा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतको पहलमा स्थानीय रोमन शिलाकार, श्रीभक्त कासिछ्वा, विज्ञान राई, निर्भयबाबु प्रसाईं लगायतका २३ जनाबाट प्रतिव्यक्ति रु एक लाखका दरले सहयोग रकम सङ्कलन गरी उद्धारका सामग्री खरीद गरिएको छ ।

डुबान, बाढी, पहिलो, आगालागी जस्ता विपद्का बेलामा आवश्यकपर्ने सम्पूर्ण सामग्री र उद्धारमा खटिने सुरक्षाकर्मीसहित स्थानीय व्यक्तिको तालीम प्राप्त जनशक्तिसमेत तयार पारेको छ । नगरपालिकाले हालै जीर्णोद्वार गरेर पानी भरेको दुई पोखरीमा आज नेपाली सेनाले आयोजना गरेको प्रदर्शनमा तीन वटा ढुङ्गामा उद्धारकर्मी सहितको टोलीले पानीमा डुबेका व्यक्तिको ढुङ्गामार्फत उद्धार गर्ने र प्राथमिक उपचार गर्नेबारेमा प्रदर्शनी गरेको छ ।

कार्यक्रममा सांसद बस्नेतले भक्तपुरका आम जनताको समन्वय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत विभिन्न सङ्घ संस्थाले खेलेको भूमिकाकै कारण भक्तपुर विपद् व्यवस्थापनमा अन्य जिल्ला भन्दा अघि रहेको बताए । उनले जस्तोसुकै विपद् आए पनि सबै खालको उद्धार गर्ने सामग्री र जनशक्ति पूर्ण रुपमा तयारी अवस्थामा रहेको जानकारी गराए।

भक्तपुरमा दीर्घकालीन बाढीको समस्या समाधान गर्न हनुमन्ते नदीको करिडोर निर्माण भइरहेको जानकारी गराउँदै उनले पहिलो चरणमा रु ८१ करोडको लागतमा राधेराधेदेखि चार दोबाटोसम्म हनुमन्ते नदीको करिडोर निर्माण कार्यभइरहेको र अब दोस्रोचरणमा रु ७५–७५ करोडको लागतमा दुई चरणमा निर्माण सम्पन्न गर्ने तयारी भएको बताए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गत वर्षको जस्तो विपद् अब भक्तपुरले भोग्नु नपर्ने र विपद् आएमा अरुको भर नपरी उद्धार सामग्रीसहितको दक्षजनशक्ति तत्कालै परिचालन गर्नसक्ने अवस्थामा पुगेको बताए । नेपाली सेनाको बीर दल गणका प्रमुख एवं कर्णेल शिवप्रसाद पौडेलले रेस्क्यू रोप, सेफ्टी हैल्मट, भर्याङ, लाइफ ज्याकेट, अग्नि नियन्त्रणयन्त्र, चेनस, डोरी, बोटलगायत विभिन्न सामग्री सुरक्षित रुपमा राखिएको बताए।

उनले दुई दिने विपत् व्यवस्थापन सम्बन्धी तालीमसमेत सञ्चालन गरी भक्तपुर जिल्लामा आइपर्ने प्रकृतिक प्रकोप, बाढि पहिरो, आगलागी जस्ता विपत्को व्यवस्थापन तथा नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलगायत ६७ जनालाई विपत् व्यवस्थापन तालीम दिएर दक्ष बनाइएको बताए ।