समाचार

किसानको उन्नति बिना देशको विकास हुन सक्दैँन: मन्त्री अर्याल

स्याङजा । भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने बताएका छन् । वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरुले एक हजार रोपनी जमीनमा सामूहिक रुपमा लगाउन थालेको कागती खेतीका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकार कृषिका माध्यमबाटै देशमा समृद्धि ल्याउने अभियानमा रहेको बताए।

माटो र हावापानी सुहाउँदो उत्पादन बढी हुने खालका खेती लगाउन पनि किसानहरुलाई उनले आग्रह गरे। नगरपालिकाका दुई वडाका ढिकिडाँडा, तमादि र अमलडाँडामा एक हजार रोपनी जमीनमा सामूहिक रुपमा गर्न लागिएको कागती खेतीलाई एउटा नमूना मोडलका रुपमा देशभर विस्तार गर्न सकिने मन्त्री अर्यालको भनाइ छ ।

कागती खेती अभियानको नेतृत्व गरिरहेका भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले पहाडबाट बसाइ सरेर तराइका साथै बजार क्षेत्र र रोजगारीका लागि विदेश जानेको सङ्ख्या बढेकाले खेती गर्ने जनशक्तिको अभावमा जमीन बाँझो हुँदै जाने क्रम बढेकाले सो अभियान सञ्चालन गरेको बताए।

तीन वर्षसम्म अन्तरबालीका रुपमा कागती खेतीभित्र तरकारी खेतीसमेत लागाइने छ । वडा नं १४ का वडा सदस्य एवं स्थानीय गोमप्रसाद लुइँटेलले बिरुवा रोप्नका लागि रुख काट्नुका साथै जमीन मिलाउने काम भइरहेको बताए। लगाएको खेतीबाली बाँदरले खाएर हैरान भएका कृषकहरु सामूहिक कागती खेती लगाउने अभियानले उत्साहित भएका छन् ।