अन्तर्राष्ट्रिय

‘३२ हजार बर्ष’ पहिलेको ब्वाँसोको टाउको भेटियो

मस्को । रुसको उत्तरधुर्वी क्षेत्रमा झण्डै ‘३२ हजार बर्ष‘ अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी बैज्ञानिकहरुले बताएका छन् । धेरै रौँहरुले ढाकिएको अवस्थामा तिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको उनीहरुको भनाई छ ।

बैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१.५ सेन्टीमिटर रहेको पनि जानकारी दिएका छन् । आजभोलि पनि उक्त क्षेत्रमा ब्वाँसोको वासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाई हुने गरेको उनीहरुले बताएका छन् ।

स्थानीय वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधी सम्वन्धी अध्ययन गर्ने जिकेइ विश्वविद्यालयमा पठाएका बताइएको छ ।“यस्तो हामीले पहिलो पटक देखेका छौँ,” याकुितया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले एएफपीसँग शुक्रबार भने। मरेको त्यो ब्वाँसो दुईदेखि चार बर्षसम्मको उमेरमा मरेको हुनसक्ने विश्वास गरिएको उनले बताए। त्यस टाउकोका बारेमा रुस, जापान, स्विडेनलगायतका देशमा लगातार अध्ययन भइरहेको पनि प्रोटोपोपोभले जानकारी दिए।