गण्डकी प्रदेश

भाँगेका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण

दमौली । नापी कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–४ भाँगेका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरेको छ । वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई नापी कार्यालयले गाउँ ब्लक जग्गा धनी पुर्जा वितरण गरेको हो ।

गाउँमै पुगेर त्यहाँका २७ मध्ये २३ जनालाई गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। चार जनालाई भने कागजात नमिलेका कारण पुर्जा वितरण गर्न नसकिएको उनले बताए। उनले भने, “ग्रामीण भेगका जनतालाई सदरमुकामसम्म आउन नपरोस् भनेर गाउँमै पुगेर पुर्जा वितरण गर्‍यौँ। चार जनामध्ये कोही उपस्थिति भएनन्, कोहीको भने कागजात नमिलेका कारण वितरण गर्न सकिएन ।”

आचार्यका अनुसार गाउँ ब्लकको जग्गाधनी पुर्जा पाउनेमध्ये सबैभन्दा बढी पाउनेले दुई रोपनी जग्गा पाएका छन् भने एका, दुई र तीन आनासम्म पाउने पनि छन् । पुर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए ।

विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सा नाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नाप नक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नं लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो ।

तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न शुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ । गाउँ ब्लकअन्तर्गत रहेका सर्वसाधारणले कार्यालयमा आएर ब्लक पुर्जा बनाउन सक्नेछन् । नापी कार्यालयले आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा दुई महीना अगाडि ३३ जनालाई ब्लक पुर्जा वितरण गरेको थियो ।