प्रदेश 1

उद्यमी व्यापारी जनताप्रति उत्तरदायी हुनुपर्छ – प्रदेश प्रमुख

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले उद्योगी व्यापारीले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् । विराट व्यापार सङ्घको १०औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले यस क्षेत्रका जनतालाई आवश्यक पर्ने वस्तु उत्पादन गरी सहज ढङ्गले उपलब्ध गराउन आग्रह गरे ।

प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुशियतले मुलुकलाई समृद्ध बनाउन उद्योगी व्यापारीको ठूलो योगदान रहने बताउँदै व्यापारी वर्गका समस्या समाधानमा प्रदेश सरकार सहयोगी हुने विश्वास दिलाए ।

युवा सङ्घ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेत, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले सबैको साझा सङ्गठन रहेको सङ्घले विराटनगरलाई स्थायी राजधानी र समृद्ध बनाउन ठूलो योगदान रहेको विचार व्यक्त गरे ।

सङ्घका अध्यक्ष शिवप्रसाद रिजाल, टोल सङ्गठनका अध्यक्ष राजु मास्के सम्मानित उद्यमी ताराचन्द खेतानले कर र भ्याटका कारण सीमावर्ती क्षेत्रका बजारमा सस्तो मूल्यमा सामान उपलब्ध हुनाले यस क्षेत्रका उद्यमी र व्यापारी पलायन हुने अवस्था सिर्जना भएको विचार व्यक्त गरे । सो अवसरमा प्रदेश प्रमुख प्रा. डा. तुम्बाहाङले उद्यमी ताराचन्द खेतान, सङ्घका पूर्वअध्यक्षलगायत सदस्यलाई सम्मान गरेका थिए ।