समाचार

नेपाल प्रहरी र सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु

काठमाडौँ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको छ । प्रहरीप्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा ‘प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश ५ का प्रहरी र सरकारी वकिलको दोस्रो सम्मेलन शुरु भएको हो ।

कार्यक्रममा महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले गत वर्षको तुलनामा अपराध अनुसन्धानका क्षेत्रमा सरकारले ठूलो उपलब्धि हासिल गरेको बताए । “सरकारी मुद्दाको सफलता ७२।२८ प्रतिशत पुगेको छ, जो हालसम्मको उच्च हो”, उनले भने ।

‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मूल नाराका साथ शुरु भएको प्रादेशिक सम्मेलनमा उनले प्रादेशिक सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको समन्वय थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । अनुसन्धानलाई वैज्ञानिक र वस्तुगत प्रमाण बढाउनु जरुरी रहेको उनको भनाइ थियो ।

महान्यायाधीवक्ता खरेलले प्रतिवादीको पहिचान यकिन गर्न सहयोग पुग्ने आधिकारिक कागज प्रमाण बेगर नै अभियोग लगाउने अभ्यासले पटकपटक पहिचानको सम्बन्धमा प्रश्न उठ्ने गरेको बताउँदै दह्रो प्रमाण बनाएर मुद्दा दर्ता गर्न अनुसन्धानकर्ता तथा अभियोजनकर्तालाई आग्रह गरे ।

मुद्दाको अन्तिम फैसला नभएसम्म अनुसन्धानकर्ता र अभियोजनकर्ताको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले नयाँ संविधान निर्माण भएसँगै फौजदारी र देवानी संहिता लागू भइसकेको अवस्थामा अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच तालमेल मिलाएर अगाडि बढेमात्र अपराध अनुसन्धानले सफलता प्राप्त हुने बताए ।

उनले कतिपय प्रहरीले गरेका अनुसन्धान सरकारी वकिल समक्ष लैजाँदा प्रमाण नपुगेको अवस्था सिर्जना हुने गरेको बताउँदै आवश्यक प्रमाण पु¥याउन प्रहरीलाई आग्रहसमेत गरे । “प्र्रहरीबाट हुने अनुुसन्धानमा केही कमी कमजोरी भएका छन्, सम्मेलनले अनुसन्धानमा प्रहरी कहाँ चुकेको छ भन्नेबारेमा छलफल चलाउन जरुरी छ”, उनले भने ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फौजदारी आचार संहितालाई कार्यान्वयनमा ल्याउनु नेपाल प्रहरीको सबैभन्दा ठूलो उपलब्धि भएको बताए । “अपराध अनुसन्धानमा नेपाल प्रहरीले विगतको तुलनामा धेरै सफलता हासिल गरेको छ”, उनले भने ।

उहाँले नेपाल प्रहरीको अपराध अनुसन्धानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय साइबर ब्युरो, मानव बेचबिखन तथा अनुसन्धान ब्युरो र डाटा सेन्टर स्थापना गरेको जानकारी दिनुभयो । दक्ष जनशक्ति निर्माण गर्ने काममा नेपाल प्रहरी अगाडि बढिरहेको बताउनुभयो ।

महानिरीक्षक खनालले ९५ प्रतिशतभन्दा बढी मुद्दा नेपाल प्रहरीले सफलतापूर्वक अनुसन्धान गरेको बताउँदै नागरिकलाई सेवा दिन नेपाल प्रहरी सधैँ दृढ छ भने । त्रिभुवन विश्वविद्यालय फरेन्सी शाखाका प्रमुख डा हरिहर वस्तीले अपराध अनुसन्धानमा टिमवर्क आवश्यक रहेको बताए

प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले सम्मेलनमा त्रिवर्षीय अपराध अनुसन्धानका बारेमा छलफल हुनुका साथै चार वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए।  दुई दिनसम्म चल्ने सम्मेलनमा तीन प्रदेशको १३८ अभियोजनकर्ता तथा अनुसन्धानकर्ताको सहभागिता छ । कार्यक्रममा महान्यायाधिवक्ता कार्यालयबाट प्रकाशित ‘बाल न्याय स्रोत सामग्री’ पुस्तकको विमोचन गरिएको थियो ।