कर्णाली प्रदेश

स्थानीय न्यायिक समिति गठन भएन

जाजरकोट । स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि डोल्पाको ठुलीभेरी नगरपालिकामा न्यायिक समिति गठन हुनसकेको छैन । प्रशासकीय केन्द्रको विवाद समाधान हुन नसकेपछि न्यायिक समिति गठन हुन नसकेको हो ।

न्यायिक समिति गठन नहुँदा न्याय सम्पादनकार्य अलपत्र पर्दै आएको छ । अहिले पनि न्याय सम्पादनका लागि प्रहरी र जिल्ला प्रशासनमै स्थानीयवासी जाने गरेका छन् । जुफाल वा दुनै प्रशासनिक केन्द्र भन्ने विषयको विवादले गर्दा यहाँका अधिकांश विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । केन्द्रकै विवादले गर्दा बजेट कार्यान्वयनमा समस्या देखिएको छ ।

नगरपालिकाको कामकाज अहिले जुफालबाट हुँदै आएकाले जुफालबाट कार्यसम्पादन भएका कुनै पनि कार्य दुनैमा रहेका जनप्रतिनिधिले स्वीकार नगर्दा दुनैमा हुने हरेक गतिविधि ओझेल पर्दै आएका छन् । नगरप्रमुखको घर जुफाल रहेको छ भने नगरउपप्रमुखको घर दुनै रहेको छ । राजनीतिक मुद्दाभन्दा पनि व्यक्तिगत प्रतिष्ठाका कारण दैनिक समस्या पर्दै आएको अधिकांश सर्वसाधारणको भनाइ छ ।

जनप्रतिनिधि दुई भागमा विभाजन हुँदा काम गर्न समस्या भएको छ । न्यायिक समिति गठन हुन नसक्दा दैनिक जनताबाट गाली खाएको नगरउपप्रमुख योगेन्द्रबहादुर शाहीले बताए । नगरप्रमुख गणेशबहादुर शाहीलाई न्यायिक समिति गठनका विषयमा कुरा गर्न खोज्दा अहिले सुतेको छु, पछि कुरा गरौँला भन्दै फोन काटेपछि कुरा हुन सकेको छैन ।

तल्लो डोल्पाका स्थानीय तहमा आवश्यक ज्ञान नहुँदा न्याय सम्पादनमा समस्या भएको मुड्केचुला गाउँपालिकाले जनाएको छ । माथिल्लो डोल्पाभन्दा तल्लो डोल्पाका मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिकामा न्याय सम्पादनको काम अगाडि बढेको पाइएको छ ।

उपल्लो डोल्पाका सबै स्थानीय तहका कार्यालय सदरमुकाम दुनैमा भएका कारण त्यहाँका स्थानीयवासीले न्याय सम्पादनको काम महसुस गर्ने गरी नपाएको गुनासो गरेका छन् । हिउँदमा चिसो छल्न जाजरकोट र रुकुम झर्ने भएका कारण स्थानीयवासी तातो भएपछि मात्र उपल्लो डोल्पा फर्कने गर्दछन् । उपल्लो डोल्पा फर्के पनि यहाँका हिमालमा पाइने जडीबुटीको सङ्कलन तथा व्यापारमा व्यस्त हुँदा समस्या भएको बताइएको छ ।