पु.समाचार

पास्नीको भोज खाँदा बिरामी भएका ३० जनाको धादिङ अस्पतालमा उपचार हुँदै

काठमाण्डौ । नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा हिजो पास्नीको भोज खाएकामध्ये ३० जना भन्दा बढी विरामी परेका छन् । स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी विरामी परेको र १९ जनाको अवस्था जटिल भएकोले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।

साविकको ज्यामरुङ गाविसका अध्यक्ष डम्बरबहादुर अधिकारीका अनुसार बिरामी हुनेमा सञ्जिता आले, सरस्वती आले, पूजा तिमिल्सिना, देवकुमारी आले, मनिता आले, कमला मुर्छान, सुनिता आले, रविना धमला, अर्जुन तिमिल्सिना, महेश आले, जानाबु परियार, रेशम आले, अनुजा तिमिल्सिना, मनिष आले, माहिली राना र अनुषा तिमिल्सिना छन् ।

बुधबार भोज खाएर फर्किएपछि बिरामीहरूमा दिसा पातलो हुने, वान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने पखाला लाग्ने, रिङ्गटा लाग्ने, रक्तचाप कम हुनेजस्ता लक्षण देखिएको थियो । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिहीबार साँझ धादिङ अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले ‘फुड प्वाइजन’ भएको हुनसक्ने आशङ्का गरेको छ ।