समाचार

सरकारले भारतसँग मल खरीद गर्छः मन्त्री बास्कोटा

काठमाण्डौ । सरकारले भारतसँग सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट युरिया र डिएपी मल खरीद गर्ने भएको छ । यही जेठ २३ गतेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो । सोही बैठकले विभिन्न चार मुलुकका लागि राजदूत सिफारिसको निर्णय गरेको छ । सिफारिस भएका राजदूतमा डा वंशीधर मिश्र (बङ्गलादेश), डा नारदनाथ भारद्वाज (कतार), महेशराज दाहाल (अष्ट्रेलिया) र दावा फुटी शेर्पा (स्पेन) का लागि छन् ।

बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ र सार्वजनिक खरीद (सातौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ भने इन्टरनेट सेवाको मूल्य समायोजन गरेको छ ।

सरकारका प्रवक्ता बाँस्कोटाका अनुसार धितोपत्र रजत जयन्ती, शिख धर्मका संस्थापक गुरु नानकको जन्म जयन्ती र वाङ्यम शताब्दी पुरुष सत्यमोहन जोशीको शत्वार्षिकीका अवसरमा स्मारिका सिक्का टक्मारी चलन चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइएको छ ।

बैठकले एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी विधेयक तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ भने काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णय गरेको छ ।