राजनीति

अहिले राजनीतिक अस्थिरताको अन्त्य भएको छ, अब निर्माणमा जुटौंःअध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताएका छन् । बलेफी गाउँपालिका–५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताए।

जनयुद्धले ल्याएको राजनीतिक परिवर्तन र भूकम्पले पु¥याएको क्षति स्मरण गर्दै अध्यक्ष दाहालले सिङ्गो देश समृद्धिको बाटोमा लागेको बताए । ठूलो प्रकोप र द्वन्द्वपछि जापान विकसित र समृद्ध भएको उदाहरण दिँदै उनले नेपालमा पनि नयाँ संस्कारको साथमा विकासले गति दिएको बताए ।

“नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भएको छ । अबको समय भनेको विकास निर्माणमा जुट्ने हो”, उनले भने, “राजनीतिक अस्थिरतापछि अहिलेको सरकार आर्थिक समृद्धि र समृद्ध मुलुक स्थापना गर्ने जमर्कोमा जुटेको छ ।”

विसं २०७२ मा भूकम्प नगएको भए नेपालको संविधान निर्माण नहुने दाबी गर्दै उनले प्राकृतिक विपद्ले देशका सबै पक्षलाई एकताबद्ध हुन प्रेरित गरेको स्मरण गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले अगामी दिनमा सबै एकताबद्ध भएर समृद्धिको अभियानमा लाग्न पनि आग्रह गरे।

पूर्वमन्त्री तथा सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकलाई प्रकोपले निरन्तर क्षति पु¥याएको भन्दै त्यस क्षतिलाई सिन्धुपाल्चोकवासीले अवसरका रुपमा लिनुपर्ने बताए । भूकम्पबाट क्षति पुगेको विद्यालय पुनःनिर्माणपछि भौतिक मात्रै नभएर शौक्षिक गुणस्तरमा लाग्न आवश्यक रहेको सापकोटाको भनाइ छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट विद्यालय भवनलाई क्षति पुगेपछि टाटा ट्रष्ट इण्डिया, सिप्रदीयन सहायता संस्था नेपालको रु तीन करोड ९७ लाख चार हजार १५० को अनुदान सहयोगमा दुईतले १५ कोठे सुविधा सम्पन्न भवन निर्माण भएको हो । विगत चार वर्षदेखि ३५० विद्यार्थी अस्थायी टहराबाट पठनपाठन गर्दै आएको विद्यालयले जानकारी दिएको छ ।