समाचार

काँग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गरेका छन् । डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७ तारिखसम्म हुने मेलामा सहभागी हुन काँग्रेस उपसभापति निधिसहितका नेताहरू त्यसतर्फ प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

डेनिस इन्स्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी (डिआइपिडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कँग्रेस उपसभापति निधिसहित नेता डा मीनेन्द्र रिजाल, चित्रलेखा यादव र विनोद भट्टराई त्यसतर्फ लागेका हुन् ।

प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभवबारे अध्ययन भ्रमणका सहभागीहरूलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ । डिआइपिडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको दलहरूको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।

प्रजातन्त्र मेलामा सहभागीपछि उपसभापति निधिसहितका नेताहरू विश्वभर छरिएर रहेका नेपाली काँग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । विभिन्न ३३ देशका महाधिवेशन प्रतिनिधिको सहभागितामा उक्त कार्यक्रम डेनमार्कमै हुनेछ ।

कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र यसको नेपालमा पर्ने प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एशिया र नेपाल, समाजवादमा युरोप अनुभव विषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।