राजनीति

लोकसेवा आयोगले स्वतन्त्र रुपमा गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया रद्ध गर्नु हुदैनन्- नेता पौडेल

विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकाले त्यसको निर्णय सबैले मान्नुपर्छ ।

वरिष्ठ नेता पौडेलले निष्पक्ष र स्वतन्त्र ढङ्गले कर्मचारी छनोट गर्ने प्रक्रिया लोकसेवा आयोगले गर्न पाउनुपर्नेमा जोड दिँदै राज्य व्यवस्था तथा सुशासन समितिले करारमा नियुक्ति गर्न दिनुपर्ने निर्णय सही नभएको टिप्पणी गरे ।

एक प्रश्नको जवाफमा नेता पौडेलले पार्टीको महाधिवेशन समयमा गर्न आफूले पहिलेदेखि नै आग्रह गरिरहेको उल्लेख गर्दै महाधिवेशनको मिति एक वर्ष सारिए निर्वाचनमा प्रभाव पर्ने र पार्टीलाई नोक्सानी हुने स्पष्ट पारे।

भारतमा एस जयशंकर विदेशमन्त्री नियुक्त भएको बारेमा सोधिएको प्रश्नमा नेता पौडेलले नेपाल स्वतन्त्र राष्ट्र रहेको र हामीले आफ्नो निर्णय आफै गर्न सक्ने भएकाले विदेश मन्त्री नियुक्तिले नेपाल र भारतको सम्बन्धमा कुनै असर नपर्ने धारणा व्यक्त गरे।