गण्डकी प्रदेश

उपकुलपति खनियाद्वारा क्याम्पसमा छात्रावासको शिलान्यास

गलकोट । धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्माण गर्न लागेको सुविधा सम्पन्न छात्रावास भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ । साविक धौलागिरि अञ्चलका छात्राहरुलाई क्याम्पस अध्ययनका लागि आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न थालिएको छात्रावास भवनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले शिलान्याश गरेका हुन्।

क्याम्पसले हाल सामान्य रुपमा केही छात्रहरुलाई मात्र आवासीय सेवा दिने गरेको थियो । अहिले क्याम्पसले पहिलोपटक छात्राहरुलाई लक्षित गरी छात्रावास सञ्चालन गर्नका लागि भवन निर्माण गर्न लागेको धौलागिरि बहुमुखी क्याम्पसले जनाएको छ । पाँच तलाको भवन बनाउने लक्ष्य रहेको छात्रावासको यो वर्ष पहिलो तला मात्र निर्माण गरिने क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले बताए । हाल त्रिभुवन विश्वविद्यालय मार्फत आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेट रु ५४ लाख ९८ हजारले पहिलो तला निर्माण गरिने जनाएको छ ।

उपकुलपति खनियाले विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्नका लागि आवासीय सुविधाले ठूलो महत्व राख्ने भन्दै लक्ष्यअनुरुप निर्माण सम्पन्नका लागि थप बजेटको निकासाका लागि सक्दो सहयोग गने प्रतिबद्धता जनाए । लक्ष्यअनुरुपको पाँचतले छात्रावास निर्माण गर्न करीब रु पाँच करोड खर्च लाग्ने क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए। धौलागिरि बहुमुखी क्याम्पसमा चारवटा सङ्कायमा झण्डै एक हजार ७०० विद्यार्थी अध्ययनरत छन् ।