प्रदेश 2

मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवै मोटरसाइकल चालक हुन् । दुवै मोटरसाइकलमा चालकसहित तीन/तीन जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । ना२५प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन् ।

दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन भने ज२प ७८८६ नंको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।