सुदूरपश्चिम

विपत् व्यवस्थापनको उच्च जोखिममा ग्रामीण बस्ती

डोटी । जिल्लाका अधिकांश ग्रामीण बस्ती विपत् व्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको पाइएको छ । जिल्लामा भिरालो स्थानमा परम्परागत प्रविधिबाट घर निर्माण गरिनु, वनजङ्गलको फडानी तथा विना प्राविधिक डोजरद्वारा सडक निर्माण गरिएका कारण बाढीपहिरोको उच्च जोखिम हुनु, भौगोलिक बनावटका कारण भूकम्पीय जोखिम रहेको शहरी विकास डिभिजन कार्यालय दिपायल राजपुरले जनाएको छ ।

कार्यालयका प्राविधिक रामचन्द्र बिसीले डोटी जिल्लाको भौगोलिक बनावटअनुसार विद्यालय तथा समुदायमा भूकम्पप्रतिरोधी भौतिक संरचना निर्माण गर्नुपर्ने बताए । उनले भने, “यहाँका बस्ती भूकम्पीय तथा अन्य बाढीपहिरोका हिसाबले उच्च जोखिममा छन्, बेलैमा सचेत हुने बेला आएको छ ।”

परम्परागतरूपमा निमार्ण गर्दा लाग्ने खर्चको १० प्रतिशतमात्रै थप गर्दा भौतिक संरचना भूकम्पप्रतिरोधी हुने भएकाले प्राविधिकको सल्लाहअनुसार विद्यालय तथा समुदायमा भूकम्प प्रतिरोधात्मक भौतिक संरचना निर्माण गर्न र भौतिक विपत् जोखिम न्यूनीकरणका लागि समुदायको उत्थानशिलता बढाउन आवश्यक रहेको प्राविधिक बिसीले बताए।

यस्तै विगत लामो समयदेखि विपत् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत सामुदायिक विकास केन्द्र डोटीका विपत् जोखिम न्यूनीकरण अधिकृत प्रयागराज कापडीले डोटीका ग्रामीण बस्ती विपत् व्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको बताए। उनले भने, “सदरमुकामभन्दा पनि गाउँमा रहेका बस्ती बढी विपत्को जोखिममा छन्, सामान्य केही समस्या आउँदा ठूलो क्षति हुनसक्ने सम्भावना छ ।”

बाक्लो ग्रामीण बस्ती, कमजोर भौतक संरचना र विपत् व्यवस्थापनबारे न्यून जानकारीका कारण विद्यालय तथा समुदाय विपत्बाट असुरक्षित रहेको विपत्को क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको भनाइ छ । सामुदायिक विकास केन्द्र डोटीले जिल्लाका १४६ विद्यालयमा गरेको एक सर्वेक्षणमा आठ प्रतिशत विद्यालयमा मात्र विपत् जोखिम न्यूनीकरणका विषयमा आधारभूत जानकारी र योजना रहेको पाइएको छ भने समुदायमा विपत् व्यवस्थापनको बारेमा न्यून जानकारी रहेको पाइएको छ ।

विपत् व्यवस्थापनका दृष्टिले जोखिमयुक्त देखिएका दुई गाउँपालिका र एक नगरपालिकाका १० विद्यालयमा करीब रु पाँच करोडको लागतमा भूकम्पप्रतिरोधी भवन निर्माण गर्ने कार्यक्रम रहेको, २६ दक्ष कामदारलाई भूकम्प प्रतिरोधात्मक भवन निर्माण प्रविधिसम्बन्धी सातदिने ढुङ्गे डकर्मी तालीम, ३० विद्यालयमा विद्यालयमा आधारित विपत् जोखिम न्यूनीकरण योजना निर्माणमा सहयोग, विद्यालय सुधार योजनामा विपत् जोखिम न्यूनीकरण योजना समावेश, विद्यालयमा सुरक्षित स्थानको पहिचान, प्राथमिक उपचारको व्यवस्था, समुदायस्तरमा आम सचेतीकरणका कार्यक्रम सञ्चालन भइरहेको सामुदायिक विकास केन्द्र डोटीले जनाएको छ ।

जापानी विदेश मन्त्रालयको आर्थिक सहयोग तथा वल्र्डभिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास केन्द्र डोटीले सन् २०१७ को जनवरीदेखि समुदाय र विद्यालय विपत् पूर्वतयारी तथा उत्थानशिलता परियोजनामार्फत विपत् जोखिम न्यूनीकरणसम्बन्धी भौतिक पूर्वाधार तथा आम सचेतीकरणसम्बन्धी कार्यक्रम डोटी जिल्लामा सञ्चालन गरिरहेको छ ।