बाग्मती

बिरामीको रोजाइमा भरतपुर अस्पताल

चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ । जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी साना–ठूला अस्पताल छन् । पालो पाएसम्म अधिकांश बिरामीको रोजाइ सरकारी अस्पताल हुने गरेको छ ।

नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडा विज्ञचिकित्सकको समूह हुनु, धेरै विभागबाट सेवा पाउनु, निजीको तुलनामा निकै सस्तोमा उपचार र औषधि पाउनु, बिमा लगायतका महत्वपूर्ण कार्यक्रम भएकै कारण बिरामीको पहिलो रोजाइ भरतपुर अस्पताल भएको बताउँछन् । यहाँका निजी अस्पतालमा एउटा विभागको एक विज्ञचिकित्सक हुने भए पनि सरकारी अस्पतालमा एउटै विभागमा १० सम्म विज्ञचिकित्सक छन् ।

सरकारी अस्पतालका चिकित्सककै भरमा यहाँका निजी अस्पताल चलेका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले अस्पतालका विज्ञचिकित्सकसहितको उच्च गुणस्तरीय उपकरणका कारण बिरामीको पहिलो रोजाइ यस अस्पताल पर्ने गरेको बताउँछन् । राजधानी बाहिर जोर्नी प्रत्यारोपण यही अस्पतालमा हुने गरेको छ । बगालेका अनुसार १२ उपकरणबाट निःशुल्क डायलासिस, २० श्ययाको सघन उपचारकक्ष, १२ श्ययाको बाल सघन उपचारकक्ष, सिटीस्क्यानजस्ता सेवा सरकारी अस्पतालमा उपलब्ध छन् ।

यससँगै न्यून शुल्कमा प्रयोगशालाको सेवा बिरामीले पाएका छन् । मुखभित्र पाइप हालेर पित्तथैलीको नलीभित्रको ढुङ्गा निकाल्ने इआरसिपी राजधानी बाहिर यहाँ मात्रै हुने बगालेले बताए। बगालेले औषधिमा उल्लेख गरेको दरभन्दा ५० प्रतिशतसम्म छुटमा ‘फार्मेसी’बाट बिरामीले औषधि किन्न पाएको जानकारी दिए । प्रसूतिको उपचारमा राजधानी बाहिरको उत्कृष्ट अस्पतालका रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । राजधानीको प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा जन्माउने अस्पताल भरतपुर हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत वर्ष १६ हजार २४३ महिलाले यहाँ बच्चा जन्माएका छन् ।

जिल्लामा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (बिमा)को प्रथम सेवाविन्दु भरतपुर अस्पताल हो । दैनिक ७०० हाराहारीले यहाँबाट बिमा सेवा लिने गरेको पौडेलको भनाइ छ । गरीब तथा असाहयका लागि पूर्ण छुटमा यसै अस्पतालबाट सेवा दिइँदै आएको छ । उपचारसँग सम्बन्धित सिफारिससँगै कानूनी प्रक्रियाका लागि पनि भरतपुर अस्पताल नै पुग्नुपर्ने अवस्था छ । मृत्यु भएकाको शव परीक्षण र बेवारिसे शवको व्यवस्थापन यसै अस्पतालमा हुँदै आएको छ ।

अस्पतालमा १४ विभागमार्फत सेवा दिइँदै आएको छ । अस्पतालमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन भएकाले बिरामीलाई केही सहजता मिल्ने गरेको छ । प्रवीणता प्रमाणपत्र र स्नातक नर्सिङ यहाँ पढाइ हुन्छ । यससँगै आवासीयरूपमा एमडी पढ्न नाम्सबाट विद्यार्थी आएको पौडेलले जानकारी दिए। विसं २०१३ मा १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पताल अहिले ६०० श्ययामा पुगेको छ । दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्ग सेवा लिँदै आएका छन् । हालै मात्र यस अस्पताल केन्द्रीय अस्पतालको रूपमा विकास भएको छ ।