खेलकुद

दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता: सङ्कटा फाइनलमा

विदुर । नुवाकोटमा जारी ‘दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’अन्तर्गत बुधबार भएको खेलमा सङ्कटा फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा सङ्कटाले च्यासल युथ क्लबलाई सडनडेथमा ७–६ गोलले पराजित गरेको हो ।

आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको सेमिफाइनलमा निर्धारित समयमा दुबै टोलीलले एक/एक गोलको बराबरी खेले ।त्यसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा सङ्कटाका लागि अमित तामाङ, म्यासेज प्रियर, इरेस्ट टम्पी, दिपेश आलेमगर, सरोज दाहाल र कोन वोरिसले गोल गरेका थिए ।

यस्तै च्यासलका लागि विक्रम लामा, अमिर श्रेष्ठ, वियक, परीसो, देवेन्द्र तामाङ र त्रिसिङ गुरुङले गोल गरेका थिए । सडेनडेथअन्तर्गत सातौँ प्रहारमा सङ्कटाका सुभास गुरुङले गोल गरे भने च्यासलका मिलन राईको प्रहार सङ्कटाका गोलकिपर राजाबाबु थापाले रोकेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सङ्कटाका गोलकिपर राजाबाबु थापा म्यान अफ दी म्याच घोषित भए ।

उनले रु १० हजार पुरस्कार प्राप्त गरे । यसअघि निर्धारित समयमा च्यासलका लागि मिलन राईले तथा सङ्कटाका लागि विदेशी खेलाडी कोन वोरिसले गोल गरेका थिए । फाइनल खेल शुक्रबार सङ्कटा र नुवाकोट–११ बीच हुने नुवाकोट फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरु जानकारी दिए ।