समाचार

सबै खालको गरीबीको अन्त्य गर्ने लाईनमा सरकार दत्तचित्तः मन्त्री अर्याल

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरीबीको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

अखिल नेपाल किसान महासङ्घले यहाँ आज आयोजना गरेको ‘दक्षिण एशिया लैङ्गिक संवेदनशील मूल्य शृङ्खला’सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परामर्श कार्यशालामा उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल लक्ष्य लिएर सरकार अगाडि बढिरहेकाले सबै प्रकारका गरीबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताईन् ।

“गरीबी निवारण सबै क्षेत्रसँग सम्बन्धित विषय भएकाले सरकार, सहकारी र निजी तथा विकास साझेदारसँग समन्वय र एकीकृत प्रयासबाट गरीबी निवारणका चुनौती पार गर्न सकिनेमा विश्वस्त छौँ”, उनले भनिन् ।

ग्रामीण क्षेत्रका महिला अहिले पनि राज्यका सेवा सुविधाबाट बञ्चित रहेको भन्दै उनले महिलाका सशक्तीकरण र लैङ्गिक समानता नै खाद्य कृषि सङ्गठनको समग्र लक्ष्य गरीबी न्यूनीकरण तथा खाद्य सुरक्षाको मर्म हुने बताईन् । मन्त्री अर्यालले समाजमा व्याप्त गरीबी र भोकमरी अन्त्य गर्न कृषि, सहकारी र साना किसान सहकारी रहेको धारणा राखिन् ।