मनोरञ्जन

अन्तराष्ट्रिय चलचित्र महोत्सव फागुन ९ गतेदेखि

काठमाण्डौ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १५ गतेसम्म हुने भएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘चलचित्र संस्कृति’ को विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष केपी पाठकले जानकारी दिए । “यस वर्षको महोत्सवमा एनिमेसन र वृत्तचित्र विधालाई पनि समावेश गरेका छौंँ”, उनले भने ।
एनिमेशन विधामा पुरस्कृत हुने चलचित्रलाई सात सय पचास अमेरिकी डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । त्यस्तै अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोकृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड, सर्वोकृष्ट वृत्तचित्रलाई एक हजार राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोकृष्ट लघु चलचित्रलाई पाँच सय डलर राशिको वाग्मती अवार्ड प्रदान गरिनेछ ।
त्यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु एक लाख राशिको नगदसहित पुरस्कार, उत्कृष्ट छोटो चलचित्रलाई रु ५० हजारसहित पुरस्कार र छोटो चलचित्रमध्येको उत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । त्यस्तै फिचर चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ ।
नेपाली चलचित्रका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको छ भने विदेशी डकुमेन्ट्री चलचित्रलाई १० अमेरिकी डलर र फिचर चलचित्रलाई १५ डलर शुल्क निर्धारण गरिएको छ । त्यस्तै प्रतिष्ठानले आगामी कात्तिक ४ देखि १० गतेसम्म मकवानपुरमा पटकथा लेखन कार्यशाला सञ्चालन गर्ने तयारी गरिरहेको छ । इन्द्रसरोवर, कुन्साल वा चित्लाङमध्ये कुनै एक ठाउँमा सञ्चालन हुने कार्यशालाका लागि सहभागीले यही जेठ ३२ गतेदेखि आवेदन दिन सक्नेछन् । एक हप्तासम्म हुने कार्यशालामा भारत, चीन र अमेरिकाका अनुभवी चलचित्रकर्मीले प्रशिक्षण दिनेछन् । कार्यशालामा नेपालका तर्फबाट सम्पदा मल्लले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । कार्यशालामा सहभागिताका लागि नेपालीले रु १० हजार र विदेशीले रु एक सय पचास डलर शुल्क तिर्नुपर्नेछ । सो अवसरमा नेपाल चलचित्र कलाकार सङ्घमा नवनिर्वाचित अध्यक्ष रवीन्द्र खड्काको कार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियो । सङ्घका उपाध्यक्षमा रेजिना उप्रेती, सानु ताम्राकार, महासचिव चेतबहादुर सिंह, सचिव पनाह अधिकारी, कोषाध्यक्ष सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका थिए ।